पुरस्कारको रकमले ह्वीलचेयर प्रदान

बिर्तामोड । वीरता जेसीजले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनलाई ह्वीलचेयर प्रदान गरेको छ । वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीले आफूलाई वीरता जेसीजले प्रदान गरेको दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कारको रकमले ह्वीलचेयर खरिद गरी उक्त संस्थालाई प्रदान गरेका हुन् ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्था अनुसार आफूले पुरस्कारको रुपमा पाएको रकमले ह्वीलचेयर खरिद गरी प्रदान गरेको शिवाकोटीले बताए । पूर्व अध्यक्ष शिवाकोटीले , इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, सेक्रेटरी सम्झना भण्डारीलाई उक्त ह्वीलचेयर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका २०७५ का उत्कृष्ट नागरिक पूर्णप्रसाद चुडाल, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका क्लव सर्भिस कोअर्डिनेटर सुजित वंशललगायतको सहभागिता रहेको वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ ले जानकारी दिए ।

यसैबीच इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले बौद्धिक अपाङ्गता भएकी पूर्णिमा गुरुङलाई उक्त ह्वीलचेयर प्रदान गरेको छ । शिवाकोटीले प्रदान गरेको ह्वीलचेयर इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले बौद्धिक अपाङ्गता भएकी गुरुङलाई हस्तान्तरण गरेको हो ।

कनकाई –१ जामुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृहमा रहेकी बौद्धिक अपाङ्गता भएकी गुरुङलाई इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशल, एडीडर जुनु विमली उप्रेती , वोर्ड मेम्वर लुना वस्नेत ,रेनु गोयल, वर्षा राजभण्डारीलगायतले ह्वीलचेयर प्रदान गरेका थिए । ह्वीलचेयरको अभावमा कष्टपूर्ण जीवन गुजार्दै आएकी गुरुङको अवस्थालाई मध्यनजर गर्दै ह्वीलचेयर प्रदान गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट बंशलले बताइन् ।

नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीको आतिथ्यमा भएको कार्यक्रममा सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले बौद्धिक अपाङ्गता भएकी गुरुङलाई ह्वीलचेयर प्रदान गरेर इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले ठूलो गुन लगाएको बताइन् ।