प्रतिगमनका विरुद्ध झापाली संचारकर्मी सडकमा

बिर्तामोडा २७ माघ । प्रतिगमनका विरुद्ध मुलुकमै पहिलो पटक झापाली संचारकर्मी सडकमा ओर्लिएका छन् । नेपाल प्रेस युनियन झापा र प्रेस संगठनको ब्यानरमा झापाली सञ्चारकर्मीले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयको चर्को आलोचना गरे ।

लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरुन्त सच्याऊ, प्रतिगमन मुर्दावाद लगायतका नारासहित विर्तामोड परिक्रमा गरेका पत्रकारले तानाशाह सपना नदेख्न प्रधानमन्त्री ओलीलाई सचेत गराए । नेपाली सञ्चारकर्मीले हरेक राजनैतिक परिवर्तनमा दर्विलो र ऐतिहासिक योगदान पुर्याएको स्मरण गरेका पत्रकारले झापाबाट थालिएको आन्दोलन देशव्यापी हुने विश्वास व्यक्त गरे । अहिले पनि केही व्यक्तिलाई प्रधानमन्त्रीले गरेको कदममा अलमल र भ्रम रहेको बताउँदै झापाली सञ्चारकर्मीले द्वुविधामा नपरी आन्दोलनमा ओर्लन आग्रह गरे ।

विर्तामोडस्थित दुर्गामन्दिर परिषरबाट शुरु भएको ¥याली विर्तामोडको परिक्रमा पछि सोही ठाउँमा आएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति कृष्ण हुमागाँईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदारीले नचाएको बाँदरको संज्ञा दिए । लोकतन्त्रका शासक पनि निरंकुसतन्त्रका शासक जस्तै हुने र त्यही बाटोमा ओली हिंडेको बताउँदै लोकतन्त्रमा त्यस्ता शासकलाई जनताले साथ नदिने धारणा राखे ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्राप्त परिवर्तनको रक्षाका लागि पत्रकार र नागरिक समाजले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आफ्नै गृह जिल्लाका प्रधानमन्त्री भएर पनि गर्व गर्न नसकिने काम गरेका कारण पत्रकारहरु सडकमा उत्रिनु परेको उनको भनाई थियो ।

प्रेस संगठनका प्रदेश–१ अध्यक्ष राजन केडी, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य तीर्थ सिग्देल, फोनिजका प्रदेश १ इन्चार्ज दिपीन राई, प्रेस संगठन प्रदेश सदस्य सुब्रत न्यौपाने, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी लीला अनमोल, इन्द्रसिंह राजवंशी लगायतले प्रदर्शनमा ऐक्यवद्धता जनाएका थिए ।

प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षता र नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले गर्नुभएको थियो ।