सरकारमा बस्ने नैतिकता ओलीले गुमाएको सिटौलाको आरोप
भद्रपुर, २७ माघ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले नागरिकको अधिकार अतिक्रमण गरेको भन्दै अधिकार नफर्कदासम्म काँग्रेस चुपलागेर नबस्ने बताएका छन् ।
विगतको संविधानले संसद विघटन गर्ने अधिकार दिँदा शासकीय व्यवस्था नै समाप्त भएर नागरिकले सास्ती व्यहोर्नु परेको स्मरण गर्दै वर्तमान संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिएको जिकिर गरेका सिटौलाले स्थीर संसद विघटन गर्ने ओलीको कदम नागरिकको अधिकार अतिक्रमण भएकोले काँग्रेस सडकमा आएको प्रष्ट पारेका हुन् ।
देश र जनताका पक्षमा काम गर्न नसकेको सरकार कम्युनिस्ट पार्टीका लागि मात्र चर्तिकला भएको बताउँदै संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले विश्व राजनीतिमा नभएको अराजकता देखाउँदै ओलीले राज्य दोहन गरी सडक कब्जा गरेर दुनियाँ हँसाएको जनाए ।
नेपाली कााग्रेसका प्रभावशाली नेता समेत रहेका सिटौलाले विगतका राजा महाराजाको शैलीमा ओलीको सनक फैलने प्रयासमा रहेकाले व्यवस्था जोगाउन पनि वडा स्तरसम्म काँग्रेसको जागरण अभियान सञ्चालन गरिएको उल्लेख गरे । उनले वर्तमान संविधानमै नभएको प्रावधान सही हो भनेर ओली सरकार पक्षधरले पुष्टि गर्न नसकेको भन्दै राजनीतिक अस्थिरता निम्तने संसद विघटन अदालतले खारेज गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
तीन वर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेका ओलीले नेकपाको नेता समेत हुन नसकेर आफ्नो रीस संसदमाथि पोखेको आरोप लगाउँदै सिटौलाले प्रधानमन्त्रीमा बस्ने नैतिकता केपी ओलीसित नरहेको बताए ।