मुलुक तानाशाहीकरणमा जाने खतरा : झलनाथ

बिर्तामोड २३ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनालले मुलुक तानाशाहीकरणमा जाने खतरा बढेको बताएका छन् । झापाको विर्तामोडमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाटमा सरकार आफैंले सडकमा जुलुस निकालेर डंका देखाएको बताउँदै वरिष्ठ नेता खनालले प्रधानमन्त्री आफैं संविधानको विध्वंश गरेर तानाशाहीकरणको प्रक्रियामा अघि बढेको आरोप लगाए ।

पत्रकारहरुसंगको कुराकानीमा बरिष्ठ नेता खनालले अन्धा मान्छेहरुमात्रै प्रतिगमनको पक्षमा उभिएको टिप्पणी गर्दै प्रतिगामी कदम सच्याउने कार्यमा सहयोग गर्न जनतालाई आह््वान समेत गरे । सर्वोच्च अदालत संविधान र कानुन अनुसार चल्ने संस्था भएकाले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे ।

निर्वाचन आयोग संविधान अनुसार गठन भएको संवैधानिक आयोग भएको बताउँदै उनले आयोगले संविधान र दल सम्बन्धी ऐनका आधारमा नेकपाको आधिकारिकताको टुङ्गो लगाउने बताए । उनले भने– “दल सम्बन्धी ऐनमा बहुमत केन्द्रीय सदस्य हुनेले आधिकारिकता र चुनाव चिन्ह पाउँछ ।”

केपी ओली समूहले गरेको प्रदर्शनलाई नेता खनालले पञ्च र्यालीको संज्ञा दिए । संयुक्त आन्दोलनका सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफमा नेता खनालले भने,“छलफल हुँदैछ, संयुक्त आन्दोलन हुन्छ ।”