ज स पाको गौरीगंजमा विरोध प्रदर्शन

गौरीगन्ज २३ माघ । जनता समाज पार्टी झापाले आज गौरीगंजमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको असंवैधानिक कदमको खारेजीको माग गर्दै जनता समाज पार्टी झापाले विरोध प्रदर्शन गरेको हो ।

दिउसो करिब १ बजे गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछी बजारबाट नारावाजी गर्दै जुलुससहित गौरीगंज बजार परिक्रमा गरि गौरीगंज चौकमा कोणसभामा परिणत भएको थियो । ‘असंवैधानिक कदम खारेज गर, संसद पुनस्र्थापना गर, रेशम चौधरीलगायत राजवन्दीहरूको रिहा गर, सम्पुर्ण लोकतान्त्रिकवादीहरू एक हौ, केपी सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै जनप्रदर्शन गरेको थियो ।

जनता समाज पार्टीका जिल्ला अध्यक्ष दिपेन वाला राइले संविधान र लोकतन्त्र रक्षाका लागि सबै लोकतन्त्रवादीहरूले केपी ओलीको संसद विघटनको असंवैधानिक कदमको विरोध गर्नु पर्ने धारणा राखेका थिए । ‘केपी शर्मा ओलीलाई दुई तिहाईको मत दिएर ५ वर्षका फागि जनताले जिताएका थिए । तर ओलीले जनताको मतको कदर नगरी संवैधानमाथि नै कु गरेर देश र जनतालाई अन्कारतिर धकेलेको जिल्ला अध्यक्ष राईले बताए ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्यनारायण गणेशले केपी ओली आफ्नो व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेको भन्दै त्यसलाई विफल बनाउन सबै नेपाली जनता त्यसको प्रतिकार गर्नु पर्ने बताए । उनले आदिवासी जनजाती, पिछडा वर्ग, मधेशी मुस्लिमको अधिकारहरू यो संविधानले सुरक्षित गरेको हुनाले संविधानलाई रक्षा गर्न आवश्यक रहेको बताए । विरोध सभामा केन्द्रिय सदस्यहरू शंकर राजवंशी, राधा थापा, प्रदेश कमिटि सदस्य तुलसी राजवंशीलगायतले संसद विघटनको विरोध गर्दै संसद पुनस्र्थापनाको माग गरेका थिए । जिल्ला अध्यक्षद्वय दिपेनवाला राई र अनुतसिंंह राजवंशीको अध्यक्षतामो विरोध सभा भएको थियो । जनता समाजवादी पार्टी झापाद्वारा केन्द्रको निर्देशन अनुसार केपी ओलीको असंवैधानिक कदमको विरोधमा झापाको कचनकवल गाउँपालिकामा माघ २५ गते पुत्ला दहन र झापा गाउँपालिकामा माघ २८ गते राँके जुलुसको कार्यक्रम रहेको जिल्ला अध्यक्ष राईले जानकारी गराएका छन् ।