क्यान्सर दिवसको अवसरमा सचेतना र्याली
विर्तामोड २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा आज विर्तामोडमा सचेतना र्याली निकालिएको छ । पूर्वाचल क्यान्सर हस्पिटलका डाक्टर, नर्स र सामाजिक संघ संस्थाहरुको सहभागितामा र्याली निकालिएको हो । बीएन्डसी हस्पिटल परिसरबाट सचेतनामूलक नारा लगाउँदै सुरु भएको र्यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो । र्यालीपश्चात सिटी मार्केटमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
सो अवसरमा पूर्वाञ्चल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले क्यान्सर रोग लाग्नै नदिने उपाय गर्नु सबैभन्दा राम्रो हुने धारणा व्यक्त गर्दै क्यान्सर लागिहाले उपचारबाट निको हुने बताए ।
बीएन्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले मदिरा, चुरोट र गुट्खा खाने बानीले क्यान्सर रोग बढिरहेको बताए । स्वस्थ र सन्तुलित आहार र व्यायामले मानिसमा क्यान्सर प्रतिरोधी शक्ति प्राप्त हुने क्यान्सर नलाग्ने वातावरण बनाउन मानिसले जतिसुकै व्यस्तताका स्वास्थ्यका विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा हस्पिटलका नर्सहरुले चेतनामूलक नाटक, गीत र नृत्य प्रस्तुत गरेका थिए ।