नेकपा स्थायी कमिटी सदस्य पक्राउ

काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपाले आह्वान गरेको नेपाल बन्द तथा हड्तालमा सहभागी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहानै राजधानीको कलंकी क्षेत्रबाट नेता शाक्यलाई पक्राउ गरेको नेकपाकै केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले फेसबुकमार्फत जानकारी दिएका छन् । नेता शाक्यसँगै अर्का स्थायी कमिटी सदस्य हितमान शाक्यपनि पक्राउ परेका छन् । हड्तालमा सहभागी हुन पुगेको नेकपाका ८ नेतालाई कलंकीबाट पक्राउ गरिएको छ ।

कलंकीबाट पक्राउ परेकाहरूलाई महाराजगंजमा रहेको सशस्त्र प्रहरी गण नं २ मा राखिएको छ । यस्तै केन्द्रीय कमिटी सदस्य अमृता थापा र चाबहिलबाट कृष्ण केसीपनि पक्राउ परेका छन् । यता बागबजारबाट नेता रमेश मल्ल लगायतलाईपनि प्रहरीले पक्राउ गरेको छ ।