शेयर सदस्यको कर्जा रकम मिनाहा
दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले झापा गाउँपालिकाका एक जना सदस्यले लिएको १० लाख भन्दा बढी कर्जा रकम मिनाहा गरेको छ ।
झापा गाउँपालिकाका शेयर सदस्य समाउल हकले लिएको कर्जा रकम २० लाख रुपैयाँ मध्ये हकको निधन भएको र उनले तिर्न बाँकी १० लाख ६२ हजार १ सय ७४ रुपैयाँ रकम मिनाहा गरिएको सहकारीका सचिव भुपाल बस्नेतले जानकारी दिए । सहकारीबाट कर्जा लिएका सदस्यको मृत्यु भएमा बाँकी रकम मिनाहा गर्ने नियम बमोजिम उक्त रकम मिनाहा गरि हकको परिवारलाई मानोचामल बापत रु ६ हजार रुपैयाँ उपलब्ध गराईएको उनले जानकारी दिए ।
सहकारीको शिक्षा उपसमितिको आयोजनामा आयोजित एक दिने सदस्य अनुशिक्षण कार्यक्रमको अवसर पारेर उक्त रकम मिनाहा सहित सिदा रकम हस्तान्तरण गरिएको हो । झापा गाउँपालिका सेवा केन्द्र ब्यवस्थापन उपसमितिका संयोजक टंक बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो ।
सदस्य अनुशिक्षण कार्यक्रममा नीति नियम सेवा सुबिधासहित बिषेस उपचार कोषको बारेमा सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ र सचिव भुपाल बस्नेतले सहजीकरण गरेका थिए ।