म्यानमारमा सैनिक कू
राष्ट्रपति विन मिन्ट र नेतृ आङ साङ सुकी हिरासतमा
एजेन्सी । म्यानमारमा सेनाले कू गरेको छ । प्रजातन्त्रवादी नेताहरू आङ सान सूकी र राष्ट्रपतिलगायत अन्यलाई पक्राउ समेत गरेको छ । गत निर्वाचनको नतिजाको सन्दर्भमा जननिर्वाचित सरकार र सेनाबीच विवाद भएपछि सेनाले कू गर्दै शासनसत्ता हातमा लिएको हो ।
सूकी लगायतका नेतालाई पक्राउ गरिएको केही घण्टापछि सेनाको टेलिभिजन च्यानलले मुलुकमा ‘ंसंकटकाल’को घोषणा गरेको थियो । एकवर्षसम्म संकटकाल रहने सेनाले जनाएको छ । सोमबार सेनाले कू गरेपछि म्यानमारको राजधानी नेपितमा र म्यानमारको प्रमुख व्यापारिक सहर रंगुनमा सडकभर सेना देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ ।
गत नोभेम्बरको निर्वाचनमा सूकीको दल नेसनल लिग फर डेमोक्रेसीले सरकार बनाउन सक्ने गरि पर्याप्त सीट जितेको थियो । सेनाले भने यसलाई फर्जी मतले जितेको भन्दै आएको थियो । यही विवादको कारण नै म्यानमारमा सेनाले आज कू गरेको हो । म्यानमार सेनाले कमाण्डर इन चिफ मीन अङ लेङलाई शक्ति हस्तान्तरण गरेको छ । सन् २०११ अघिसम्मपनि म्यानमारमा प्रजातान्त्रिक परिवर्तन हुनुअघि सेनाले नै शासनसत्तामा कब्जा जमाएको थियो ।
म्यानमारको प्रमुख सहरमा टेलिफोन सेवा र मोबाइल डेटा सेवा अवरुद्ध भएको छ । राजधानी नेपितसँगको सञ्चार सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । त्यहाँको तत्कालिन अवस्थाको जानकारी लिन मुस्किल भइरहेको छ । प्रमुख सहर रंगुनमा भने सञ्चार सेवा सिमित रहेको बिबिसीले जनाएको छ । यद्यपी विभिन्न सेवा प्रदायकहरू धमाधम सेवा अवरुद्ध गरिरहेको बताइएको छ ।