छ घन्टा टेलिफो सेवा अवरुद्ध
भद्रपुर १८ माघ । झापा लगायत प्रदेश १ का १४ वटै जिल्लामा आज नेपाल टेलिकमको सेवा ६ घण्टासम्म अवरुद्ध भएको छ । आइतबार बिहान लगभग ३ बजेतिरबाट सेवा अवरुद्ध बनेको थियो ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश १ विराटनगरका प्रबन्धक राजेन्द्र महर्जनका अनुसार महोत्तरीको बर्दिवासमा मुसाले अप्टिकल फाइबरको तार काटिदिएपछि समस्या भएको हो । मुसाले तार काटिदिएपछि फइबरको लिंक नै टुटेर उत्पन्न भएको समस्याले सेवा अवरुद्ध हुन पुगेको उनको भनाइ छ । मर्मत सम्भार सकिएपछि बिहान ९ बजेबाट सेवा सूचारु भएको जानकारी महर्जनले दिए ।
सेवा अवरुद्ध हुँदा छ घण्टासम्म प्रदेश राजधानी विराटनगरसहित प्रदेशका १४ वटै जिल्लामा टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन नसकेको उनको भनाइ छ । महर्जनकाअनुसार प्रदेशमा टेलिकमका २० लाख भन्दा बढी ग्राहाक छन् । एक्कासि सेवा अवरुद्ध हुँदा एकै पटक सबै ग्राहक प्रभावित बनेका थिए । प्रदेश १ मा झापा, इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्ला पर्छन् ।