भद्रपुर भन्सारले मनायो ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस
भद्रपुर । भद्रपुर भन्सार कार्यालयलाई बदनाम गराउने खालका गतिविधि तुरुन्त बन्द हुनुपर्ने व्यवसायीहरूले जोडदार माग गरेका छन् । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भद्रपुर भन्सार कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले यस्तो माग गरेकाहुन् ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भद्रपुर भन्सारभित्रको विकृतिहरू बाहिर आएकमले यस विषयमा आफू गम्भीर रहेको बताए । भन्सार कर्मचारीको इमानदारी र निष्ठा अत्यन्त महत्त्वपूर्ण हुनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भन्सारमा काम गर्न आउने व्यवसायीलमई पनि इमानदारी पूर्वक आफ्नो भूमिका निर्वाह गरी कानुनको पालना गर्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले व्यवसायीले भन्सारभित्र गर्ने गलत क्रियाकलाप रोक्नु पर्नेमा जोड दिए । गलत क्रियाकलापकै कारण उद्योगी व्यवसायीहरूलाई सडकमा प्रहरी प्रशासनले दुःख दिने गरेको बताउँदै झापा उद्योग संघका अध्यक्ष समेत रहेका ढकालले भने, ‘यस विषयमा तपाईंहरु आफै गम्भीर बन्नुपर्छ, प्रहरी प्रशासनले सडकमा सामान समात्यो भन्दै हामी कहाँ आउनु हुन्छ, हामीले केही गरेनौँ भनेर भन्नुहुन्छ । हामीले त्यस विषयमा बोल्दा उल्टै कुरा सुन्नु पर्छ ।’
झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले कर्मचारी प्रशासन वा व्यवसायी कसैलाई पनि भन्सारलाई बदनाम गराउने छुट नभएको बताए । ‘सुरुमा भन्सारलाई खुकुलो बनाई त्यस्ता गतिविधिलाई प्रशय दिँदै जाँदा भन्सारमा काम गर्न आउने इमानदार व्यवसायीहरू पलायन हुने अवस्था सृजना भएको छ,’ अध्यक्ष पनेरुले भने, ‘यस्ता घटनाले गर्दा अहिले भन्सार कर्मचारी, सुरक्षाकर्मी र उद्योगी–व्यवसायीहरू बदनाम हुँदैछ, भन्सारले नै त्यस्ता गतिविधिलाई रोक लगाएमा कोही पनि बदनामको भागिदार हुनु पर्दैन ।’
कार्यक्रममा भन्सार विभागले भद्रपुर भन्सारमा कार्यरत कम्प्युटर अपरेटर जगदीश्वर काफ्ले र रविलाल सिंह राजवंशीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो ।