लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ
भद्रपुर ६ माघ । झापाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र ट्याब्लेटसहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर–६ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । सोमवार बेलुका ६ बजे धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का २० वर्षीय समिर तामाङ र २२ बर्षीय नविन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित सोमवार दिउसो ५ बजे बेलडाँगीबाट पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका–४ का २२ वर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझिलाई किरात चोकबाट पक्राउ गरेको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ का १५ वर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि सहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका ६ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।