संसद विघटनको असंबैधानिक कदम नसच्चिए दुर्घटना हुने
दमक ६ माघ । नेकपाको प्रचण्ड– नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन गर्ने असंबैधानिक कदम नसच्चिए मुलुक अझै दुर्घटनामा जाने बताएकी छन् । प्रधानमन्त्रीको गृहनगर दमकमा आज आफूपक्षीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ झाँक्रीले नेपाली जनताले बलिदान दिएर ल्याएका उपलब्धिहरु प्रधानमन्त्री केपी ओलीका कारण गुम्ने खतरा रहेको बताएकी हुन् ।
दमक ८ बालुवाटारस्थित नेकपा दमक नगर कमिटीको पार्टी कार्यालयमा आज भएको नगरस्तरिय कार्यकर्ता भेलामा उनले लोकतन्त्र, गणतन्त्रसहितका परिवर्तन नै गुम्ने खतरा रहेकोले आन्दोलनमा लाग्नुको विकल्प नभएको धारणा राखिन् । प्रधानमन्त्रीले असंबैधानिक रुपमा संसद बिघटन गरेपछि नेपालको राजनैतिक परिवर्तन गुम्ने र परिवर्तनको रक्षा गर्ने भन्ने दुई बाटोमा पुगेको भन्दै नेतृ झाँक्रीले राजनीतिलाई सहि बाटोमा ल्याउन सडकबाट दबाब सिर्जना गर्न अबैलाई आग्रहसमेत गरिन् । परिस्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै उनले निरंकुश राजसंस्थालाई घुँडा टेकाएका नेपाली जनताले ओलीको निरंकुशतालाई पनि पराजित गर्ने विश्वास व्यक्त गरिन् ।
हिजो ओलीले चुच्चे रेल, पानी जहाज र हावामा बिजुलीका हावादारी कुरा गर्दा ताली बजाएकै कारण आजको यो दुर्गती भोग्नु परेको भन्दै उनले कुनै योजना र अनुसन्धान बिना बोलिएका हावादारी कुरालाई हो भनिदिँदा र थप्पडी बजाईदिँदा ओलीको महत्वाकांक्षा बढेको टिप्पणी गरिन् ।
भेलामा नेकपाका अर्का केन्द्रीय सदस्य झापा इञ्चार्ज रविन कोइराला, सह इन्चार्ज धर्मशिला चापागाइँ, जिल्ला सचिव मणि राईले सम्बोधन गरेका थिए । नेकपा दमक नगर सचिव तिर्थराज बस्नेत शंकरको अध्यक्षतामा भएको कार्यक्रमले नगरस्तरीय संघर्ष समिति गठन गर्ने जनाईएको छ ।