शेरबहादुरलाई सुजाताको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवा संविधानको रक्षाको पक्षमा नलागेर प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा उभिएको भनेर आलोचना गरेकी छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना नगरिकनै चुनाव गर्न खोजे देशमा रक्तपात हुने चेतावनी समेत दिएकी छन् ।
माघे संक्रान्तिकै दिन कांग्रेस केन्द्रीय सदस्य कोइरालाले देशलाई रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताईन् । सभापति देउवाले संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको पनि कोइरालाको टिप्पणी छ ।
असंवैधानिक तरिकाले प्रतिनिधिसभा बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उनको भनाइ छ । नेत्री कोइरालाले यसबारे केन्द्रीय कमिटी बैठकमा प्रश्न उठाउने समेत बताएकी छन् ।
‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको पछि किन लागिरहनुभएको छ आश्चर्य लागेको छ । उहाँ रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैँले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो,’ नेत्री कोइरालाले भनिन् ।
देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा उनले आपत्ति जनाएकी छन् । कोइरालाले भनिन्, चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’
३० वर्षदेखि देउवा बारम्बार प्रधानमन्त्री बन्दैआएको स्मरण गर्दै देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने तर त्यसभन्दा अघि प्रतिनिधिसभा पुनस्थापना गर्नुपर्ने उनको भनाई छ । कोइरालाले कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको पनि बताइन् । प्रतिनिधिसभा पुनःस्थापना बिना कांग्रेस चुनावमा नजाने पनि ठोकुवा गरिन् ।
यस्तै प्रधानमन्त्री केपी ओलीलाई पनि उनले रङ्ग बदलिरहने र बिचार बदलिरहने भएकाले उनलाई विश्वास गर्न नसकिने बताइन् । कोइरालाले भनिन्, ‘ओलीजीलाई म विश्वास गर्न सक्दिनँ । अरुले पनि विश्वास गर्न छाडिसके । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली छ । हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’