ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना
भद्रपुर २९ पुस । सडक सुरक्षामा झापा ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मुलक कार्यक्रम अघिसारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मुलक कार्यक्रम अघिसारेको हो । केहि दिन यता झापामा सवारी दुर्घटना बढेकोले सवारी साधन चेकिङ्गमा तिव्रता दिईएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
सडकमा दुर्घटना न्युनिकरण गर्न बैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । उनले भने, ‘अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने बैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी सडकमा आएको होे ।’ जिल्ला भित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरुलाई सचेतना, साईकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोसीलाई कार्वाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए ।
बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरित दिशाका दुई यातायातका साधनका चालक बीच बत्तिको समन्वयकारी भुमिका नहुँदा अत्यधिक दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले बताए । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने राता बसको लापर्बाहीका कारणपनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याई छ ।
ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट प्रमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिदै आएको छ ।
झापामा पुसमा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो । यो अन्य महिनाको भन्दा धेरै हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भिर प्रकृतिको अंगभंग भए भने ७८ जना घाईते भए ।