२९९औँ पृथ्वी जयन्ती मनाईंदैं
भद्रपुर २७ पुस । आज २९९औँ पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरि मनाईंदैछ । २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने तयारी गरिएको छ ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।
२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२–०६३ सालको आन्दोलनपछि सरकारीस्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले भने पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।
यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले बिर्तामोडमा कार्यक्रमको आयोजना गरेको छ । यता राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा झापाको कचनकवल र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा आज सार्वजनिक बिदा दिएका छन् ।