ओलीको एजेन्डा बोकेर निर्वाचनमा लाग्नुहोस् ः बस्नेत
धुलाबारी २७ पुस । नेकपा (ओली पक्षका)का केन्द्रीय सदस्य महेश बस्नेतले भने, “प्रधानमन्त्री केपी शर्मा ओलीको एजेन्डा बोकेर निर्वाचनमा लाग्नुहोस्, हाम्रो जित निश्चित छ ।” झापाको धुलाबारीमा सोमबार आयोजित ओली पक्षका नेकपा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो भनेकाहुन् । अन्य दलहरू सरकारविरुद्ध सडक प्रदर्शन गरि रहे पनि उनीहरू पनि भित्री रुपमा निर्वाचनको तयारीमा जुटिसकेका उनको भनाइ थियो । ‘त्यसैले अब हामी पनि निर्वाचनको तयारीमा लाग्नुपर्छ,’ उनले भने ।
‘कमरेड माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको इतिहास बिर्सेजस्तो छ,’ नेता बस्नेतले भने, ‘न बिर्सिनुहोस् कमरेडहरू, एमाले पार्टीकै चुनाव चिह्न सूर्य हो, सूर्य चिह्न हाम्रै हो, यसका लागि हामी जस्तोसुकै बलिदान दिन तयार छौँ ।’ अहिले सूर्य चिह्ननमा कमरेड पुष्पकमल दाहाल प्रचण्डले कुदृष्टि लगाइरहेको उनले आरोप लगाए ।
अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने खेलमा प्रचण्ड र नेपाल समूह लागि परेको उनको आरोप थियो । बस्नेतले भने, ‘लोकतन्त्र पद्धतिविपरीत सरकारविरुद्ध आन्दोलनको नाममा सीमा नाघ्ने काम गरिँदैछ, कालोझण्डा देखाउने, निषेध तथा अवरोध गर्ने हर्कत बढ्दै गएकोले त्यसको प्रतिकारमा युवा संघका कार्यकर्ता सडकमा उत्रिन नपरोस् ।’ ‘जनताको चाहनाबमोजिम राष्ट्र निर्माण र एकताको पक्षमा प्रधानमन्त्री ओली रहेकोले उनको साथमा आफूहरू रहेको उनले बताए ।