वकालत पेशाको मर्यादा विपरित गतिविधि गरेका बुढाथोकीलाई कारवाही
भद्रपुर, २५ पुस । अन्यायमा परेका व्यक्तिलाई्र न्याय दिलाउने जिम्मेवारी लिने वकिल नै अपराधको बाटो लाग्न थालेको उजुरी परेपछि झापा वार एसोसिएसनले एक जना अधिवक्ताको सदस्यता खारेज गरेको छ ।
वकालत पेशाको गरिमामा आँच पुर्याउने गतिविधि गरेको ठहर सहित झापा वारले डिकबहादुर बुढाथोकीको सदस्यता खारेज हुने गरी कारवाही गरेको हो ।
नेपाल प्रहरीका पूर्व सई समेत रहेका बुढाथोकीले मुद्धा लडिरहेका सेवाग्राहीसंग अधिक रकम असुलेको, न्यायको खोजीमा आउने महिलाहरूसित यौन शोषण प्रयास गरेको, न्याय सम्पादनमा बिचौलियाको भूमिका खेल्ने भन्दै घुस रकम असुल्ने गरेको लगायत उजुरी परेपछि छानविन गरेर झापा वारले दोषी पाइएपछि सदस्यता खारेज गरेको हो ।
नेपाल प्रहरीको जागिर छोडेपछि बुढाथोकीले वकालतको नामा प्रहरी प्रशासनमा समेत प्रभाव छोड्दै रकम कमाउने गरेको उनकै सहकमीहरूको भनाइ छ । पीडितका अनुसार डिर्भोसका लागि अदालत आउने महिलाहरूबाट १५ लाखसम्म रकम असुल्ने गरेको, अधिकार र सम्पत्तिमा पहुँच बढाइदिने भन्दै यौन सम्पर्कका लागि पटक पटक प्रयास गरेका बुढाथोकी बिरूद्ध केही पीडित महिलाहरूले उजुरी गरेपछि छानविन गरी झापा वारेले कारवाही गरेर सदस्यता खारेज गरेको छ भने कानुन व्यवसायी परिषद काठमाण्डौमा अधिवक्ता पदको लाइसेन्स खारेजीका लागि सिफारिस समेत गरेको जनाइएको छ ।