भक्का दिवस मनाउने विषयमा विवाद

झापा २३ पुस । झापाका राजवंशी समुदायमा अहिले भक्का दिवस मनाउने विषयमा विवाद भएको छ । कोचिला गाभुर फ्रन्ट संस्थाले विगत तीन वर्षदेखि पुष २९ गतेलाई राष्ट्रिय भक्का दिवस भनेर मनाउँदै आएको छ । विभिन्न जातीय संस्थाहरुले आफूखुशी फरकफरक मितिमा भक्का दिवस नै भनेर मनाउने भएपछि राजवंशी जातिभित्र विवाद भएको हो ।

तर, राजवंशी समाज विकास समिति भद्रपुर नगर समितिले कोचिला गाभुर फ्रन्टले तोकेको मितिलाई नमान्ने भन्दै पुष २५ गते भक्का दिवस मनाउने निर्णय गरेपछि मितिलाई लिएर विवाद भएको हो । त्यसलाई लिएर अहिले सामाजिक संजालमा दुवै पक्षको दोहोरी चलिरहेको छ भने सर्वसाधारण अन्योलमा परेका छन् ।

भक्का, तराइ क्षेत्रका आदिबासी, बिषेसगरी राजवंशी समुदायको मौलिक परिकार हो । जाडाको याम शुरुहुनासाथ गल्ली गल्ली चोक चोकमा बिहान सबेरै भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार विहानको नास्ताको रुपमा जो कोहीले खुवै मनपराएर खाने चलन छ ।

गैरसरकारी संस्थाको रुपमा रहेको कोचिला गाभुर फ्रन्टले २०७४ सालमा साधारणसभामार्फत पुष २९ लाई राष्ट्रिय भक्का दिवस मनाउने निर्णय गरेको थियो । आफ्नो संगठनले साधारणसभामार्फत पुष २९ लाई भक्का दिवस मनाउने निर्णय गरेको कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए । राजवंशी समाज विकास समिति भद्रपुरले पुष २९ मा भक्का दिवसको आधिकारिकताको बारेमा प्रश्न उठाइरहँदा उनले आधिकारिकताका बारेमा कुरा उठाउन जरुरी नभएको बताउँदै, यस वर्ष पनि पुष २९ गते बिर्तामोडमा भक्का दिवस मनाउन लागेको जानकारी दिए ।

यता राजवंशी समाज विकास समिति भद्रपुरले पुष २५ मा भक्का महोत्सव नै गर्न लागेको जनाएको छ । आफूहरुले पुष २५ लाई प्रस्तावित भक्का दिवसको रुपमा मानेर महोत्सव गर्न लागेको भद्रपुर नगर समिति अध्यक्ष हंशधर राजवंशीले बताए । भद्रपुर ४ का वडाध्यक्षसमेत रहेका हंशधरले जातीय संस्था राजवंशी समाज विकास समितिबाट अनुमोदन नभएको अबस्थामा पुष २९ लाई नै राष्ट्रिय भक्का दिवस मान्न जरुरी नभएको भन्दै पुष २५ लाई अनुमोदन गराउनेगरी केन्द्रीय समितिमा प्रस्ताव पेश गर्न लागेको बताए । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले पुष २९ र पुष २५ गते दुवै मितिलाई आफूहरुको समितिले अनुमोदन नगरेको बताए ।