गौरादहमा ४५औं राष्ट्रिय मेलमिलाप दिवस
गौरादह । नेपाली कांग्रेस गौरादह नगर समितिद्वारा आयोजित ४५औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा एक दिने विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस झापा जिल्लाका पुर्व सभापति पुर्णानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको विचार गोष्ठीमा अधिकांश वत्ताहरूले प्रजातान्त्रिक समाजवाद स्थापना गर्न नेपाली कांग्रेसका नेताहरूले दिएको योगदानका विषयमा चर्चा गरिएको थियो । मेलमिलापको माध्यमबाट राष्ट्रिय एकता जोगाउन नेपाली कांग्रेसले खेलेको भुमिको प्रशंसा गर्दै वक्ताहरूले महामानव विपी कोईरालाले २०३३ साल पुस १६ गते आफ्नो ज्यानलाई दाउमा राखेर देश जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिएको ऐतिहासिक एवं साहसिक निर्णय भएको बताएका थिए ।
विपी कोईरालाले तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको वश्लेषण गरि राष्ट्रिय मेलमिलापको नीतिले भारतले दरबारलाई आफ्नो अनुकुल परिचालन गर्न नसकेको स्मरण गराउदै उनीहरूले त्यहि नीतिले आजसम्म हामी सार्वभौम सम्पन्न मुलुकका नागरिककारूपमा बाच्न पाएको बताएका थिए । विपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिलेको समयमा पनि उतिकै सान्दर्भिक भएको बताउदै राष्ट्रिय हितका लागि पार्टीको नेतृत्व एकआपसमा मिल्नु पर्ने जिकिर गरेका थिए ।
दुई तिहाईको ओली सरकारले संसद विघटन गरि मुलुकमा अस्थिरता ल्याउन खोजेको आरोप लगाउदै उनीहरूले ओली सरकारको असंवैधानिक कदमको विरूद्वमा नेपाली कांग्रेस अघि बढेको बताए । उनीहरूले संसद पुनस्र्थापन गर्नु वाहेक अरू कुनै विकल्प नरहेको बताउँदै ओली सरकारले देशलाई संकटमा पार्न खोजेको बताएका थिए ।
गौरादह नगर समितिका सभापति यादवराज सेढाईको सभापतित्वमा भएको विचार गोष्ठीमा नगर समितिको तर्फबाट सभापति सेढाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासमिति सदस्य फुलवती राजवंशी , प्रदेश ‘ख’ का उम्मेदवार राजन ढुंगाना, महासमिति सदस्य शेर बहादुर भट्टराई, प्रदेश ‘क’ का उम्मेदवार तथा महासमिति सदस्य अनिलकृष्ण प्रसाईं, महासमिति सदस्य तथा गौरादह नगरपालिका नगरप्रमुख रोहित कुमार साह, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीलगायतले बोलेका थिए । कार्यक्रममा क्षेत्र नं। ५ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । सोहि कार्यक्रममा गौरादह युवा संघका सहसचिव दिपक सुवेदीले युवा संघ त्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनलाई नेपाली कांग्रेस नेता तथा कार्यकर्ताहरूले अविर लगाई पार्टी सदस्यता प्रदान गरिएको थियो ।