प्रदेश १ ले लगातार दोस्रो जित
दाङ । लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको पहिलो खेलले प्रदेश १ ले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जित हालिस गरेको हो । खेलमा सुदूरपश्चिमले दिएको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५।१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।
टिमले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाएकी थिइन् । त्यस्तै, निग्मा तामाङले अविजित रहदै ७ रनको योगदान गरिन् । बलिङतर्फ सुदूरपश्चिमका लागि दिपा जोराले २ तथा कविता कुँवर र कविता जोशीले १।१ विकेट लिएका थिए ।
मैदानमा खराब मौसमका कारण २० ओभरबाट १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो ।
सुरुवातदेखि खराब ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कविता जोशीले बाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहदै १४ रन बनाइन् , भने ओपनर ब्याटर रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहँदै ९ रनको योगदान गरिन् । बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन । यस्तै शबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १।१ विकेट हात पारेका थिए । यसअघि समूह बी मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो, भने सुदुरपश्चिमको यो पहिलो हार हो । सुदुरपश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो ।