प्रतिनिधिसभा विघटनका विरुद्ध काँग्रेसको झापामा प्रदर्शन

भद्रपुर १३ पुस । प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेको छ । विरोध प्रदर्शन तथा विरोध सभाका अधिकांश बक्ताहरुले नेपालको राजनीतिक इतिहासमा २०१७ साल पुस १ र २०७७ साल पुस ५ गतेलाई ‘कालो दिन’ को संज्ञा दिएका छन् ।

यसैक्रममा निर्वाचन क्षेत्र पाँच दमकमा आयोजित बिरोध सभामा बोल्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्तालिप्साका कारण देशमा संकट उत्पन्न भएको आरोप लगाएका छन् । ओली एक्लो व्यक्तिका कारण देशमा सम्बैधानिक संकट उत्पन्न भएको जिकीर गर्दे उनले वर्तमान संविधानलाई सत्ता र शक्तिका आडमा आक्रमण गर्ने कार्य कांग्रेस लगायत लोकतन्त्रवादी शक्तिहरुलाई मान्य हुनै नसक्ने वताए । अब संसद पुनस्र्थापना नगरिए संविधानको हत्या भएको ठहर हुने भन्दै सम्मानित सर्वोच्च अदालतले पनि त्यो अवस्था आउन नदिनेमा आफूहरु विश्वस्त रहेको नेता रिजालको निष्कर्ष थियो ।

यसैगरी झापा क्षेत्र नं–१ को धुलाबारीमा आयोजित विरोध सभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले वर्तमान सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको आरोप लगाउँदै असंवैधानिक काम गरेर जनमतको घोर अपमान गरेको आरोप लगाइन् ।

झापा क्षेत्र नं–२ को विरोधसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले नेकपा भित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र लोकतान्त्रिक पद्धतिमाथि नै प्रहार गरेको बताउँदै उक्त असंवैधानिक कदम अस्वीकार्य रहेको बताए ।

झापा क्षेत्र नं–३ कचनकबलको बनियानीमा सम्पन्न विरोध सभामा केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक र महासमिति सदस्य लगायतले बोलेका थिए ।

यता झापा दुधे बजारमा ४ नं क्षेत्रस्तरीय सम्पन्न विरोध सभामा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी प्रमुख अतिथि तथा प्रमुख वक्ता रहेको कार्यक्रम क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।