नेकपाका दुवै खेमा निर्वाचन आयोगमा

काठमाण्डौं । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार समूह प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र लिएर निर्वाचन आयोग पुगेका छन् । ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका हुन् । उनीहरूले आयोगमा सूर्य चिन्हमा दाबीसमेत गरेका छन् ।

२ तिहाइ भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले बताएका छन् । “अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा हाम्रो पक्षमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य छन्। केपी ओलीसँग नयाँ पार्टी खोल्न सक्ने संख्या समेत छैन,ु उनले भने,” ४ सय ३५ को हस्ताक्षरनै वैधानिक हो । केपी ओलीले १५ सय त के २५ हजार लगेर राखे पनि त्यो वैधानिक हुँदैन । नेकपा गठन हुँदा तत्कालिन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनेको पोखरेलले बताए । राजनीतिक र संवैधानिक नियुक्ति पाएका र मृत्यु भएकाको संख्या घटाउँदा ४ सय ३५ सदस्यीय कमिटि हुने उनको तर्क छ ।

त्यसैबिच ओली समूहले मंगलबार नै पार्टी केन्द्रीय समिति बिस्तारसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराइसकेको छ । ओली समूहको सो पत्रमा केन्द्रीय समिति बिस्तार भएको उल्लेख छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यको सूची पनि राखेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेको थियो । ओलीले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका थिए । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।