बजेट निकासा नहुँदा सडक निर्माण अलपत्र

भद्रपुर ८ पुुस । अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा झापाको अर्जुनधारा नगरपालिकामा रहेको, दक्षिणी इलामलाई झापासँग जोड्ने शनिश्चरे–खुदुनावारी सडक अलपत्र परेको छ । निर्माण सम्पन्न हुनुपर्ने मिति सकिएको ६ महिनासम्म पनि रकम निकासा नहुँदा सडक निर्माण अलपत्र परेको हो । सडक भत्काएर निर्माण नभएपछि सो क्षेत्रका सर्बसाधारणले सास्ती ब्यहोरिरहेका छन् ।

भौतिक पुर्वाधार विकास कार्यालयको ९ करोड रुपैंयाँ लागतमा शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७५ साल असार २७ गते ठेक्का लागेको थियो । कञ्चनजंघा–शेर्पा–कञ्चनजंघा जेभी सडक निर्माणको ठेक्का पाएको थियो । २०७७ असारमा सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको भएपनि बजेट निकासा नहुँदा सडक निर्माण कार्य अलपत्र परेको हो ।

समयमा काम सक्न दवाव आएपछि ठेकेदार संस्थाले सब–बेसको काम सकेर कालोपत्रे गर्न तयारी गरेको थियो । तर, असारमा बुझाएको बिलको हालसम्म भुक्तानी नदिएको निर्माण कम्पनिका सञ्चालक फुर्तेम्बा शेर्पाले बताए ।

यतिबेला स्थानीयले धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै सडकमा बाँस तेस्र्याएर अवरोध गरेका छन् । निर्माणको काम किन अलपत्र पारेको ? प्रश्न गर्दा शेर्पाले आफु रकम भुक्तानीका लागि मन्त्रालयमा रहेको बताउछन् । ‘लगभग १ करोड रकम भुक्तानी पाउन माग गर्दै मन्त्रालय धाइरहेको छु, शेर्पाले भने–‘ आफुसँग भएको रकम खर्च गरिसकेको हुनाले रकम अभावमा काम अघि बढ्न नसकेको हो ।’ तर, सर्वसाधारणभने सडक नबन्दा जनप्रतिनिधि र स्थानीय सरकार प्रतिे आक्रोसित बनेका छन् ।

अर्जुनधारा नगरपालिकाले धुलाम्मे उक्त सडकमा धुलो मार्नकालागि पानी हाल्ने र बर्खाको समयमा हिलो हुँदा बालुवा गिट्टी हाल्ने काम गर्दै आएको नगरप्रमुख हरिकुमार राना बताउंछन् । नगरले उक्त सडक समयमा सम्पन्न गर्नका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गरे पनि सुनवाई नभएको उनी बताउँछन् ।