नेता नेपालको बैठकको बैधानिकता बारे भनाइ
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पार्टी बैठकको वैधानिकता नभएको दाबी गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल पक्षले गरेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपाले भने, ‘प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको गुट भेला पार्टीको वैधानिक बैठक हुन सक्दैन’, उनले थपे, ‘पार्टीको दुई तिहाइभन्दा धेरै सदस्य अनुपस्थित भेलालाई बैठकको मान्यता दिन पाइँदैन ।’
उनले नेकपा एमाले अब कुनै हालतमा ब्यूँतिन नसक्ने पनि दाबी गरे । ‘पार्टीभित्र प्रधानमन्त्री ओलीकै कारणले समस्या सिर्जना भइरहेको छ । उहाँले फेरि पनि पूर्वएमाले ब्यूँताउने कुरा गरी राख्नुभएको कुरा आइरहेका छन् । अब कुनै पनि हालतमा नेकपा एमाले ब्यूँतिन सक्दैन’, उनले भने ।
पार्टीभित्र अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीले पटक पटक अपमान गरेको जिकिर गरे । ‘प्रचण्डले प्रधानमन्त्री ओलीको पटक पटकको अपमान सहेर पार्टी एकताको पक्षमा उभिराख्नुभएको छ’, उनले भने, ‘अहिले पार्टीभित्र देखिएको समस्या पदको होइन, विधि पद्धतिको हो ।’
उता प्रधानमन्त्री ओली पक्षधरले भने अध्यक्ष महासचिव र माइन्युटबिना गरिएको बैठकको औचित्य नभएको दाबी गर्दै आएका छन् ।