नेकपामा समूहगत भेला तीव्र
काठमाडौं । संसद विघटन भइसकेपछि विभाजनको मुखमा पुगिसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा समूहगत भेला तीव्र भएका छन् । आइतवार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्ष नपुग्दै संघीय संसद विघटन गरीदिएपछि विभाजनको तयारीमा रहेको नेकपामा समूहगत भेला तीव्र भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेता र सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् । अर्कातिर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँबानेश्वरस्थित संसद भवनमा आफ्नो समूहको भेला डाकेको छ । अर्कातिर नेकपामा निर्णायक मानिने नेता रामबहादुर थापा बादलले आफ्नो समूहका नेताहरुलाई मन्त्री क्वाटर पुल्चोकमा बोलाएका छन् ।
बालुवाटार र संसद भवन दुवैतर्फको भेलामा नगइ पुल्चोकमा बसिरहेका बादलले आफूनिकट नेताहरुसँग भावी रणनीतिका लागि छलफल गरेका हुन् । जहाँ बादलसहित ४० जना बढी नेताहरु जम्मा भएका छन् । भेलामा नेताहरु पम्फा भुषाल र देव गुरुङ पनि उपस्थित छन् । त्यसैगरी उक्त भेलामा १२ जना सांसद र ३० जना बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ ।