सरकारको पक्ष र विपक्षमा प्रर्दशन
दमक ६ पुस । सरकारको पक्ष र विपक्षमा एकैसाथ दमकमा आज प्रर्दशन भएका छन् । सत्तारुढ युवा तथा विद्यार्थीहरुले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन गरे भने समाजवादी पार्टी नेपालले विरोधमा प्रर्दशनसहित कोणसभा गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियूको अगुवाईमा युवा विद्यार्थी तथा ओली समर्थक नेकपाका कार्यकर्ताहरुले कोणसभा गर्दै ओलीले चालेको संसद विघटनको कदम आवश्यकता भएको तर्क गरे । उनीहरुले ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरु देश र जनताका पक्षमा भएको भन्दै सरकारलाई असफल बनाउने षडयन्त्रको भण्डाफोर गरिने बताएका थिए ।
सो अवसरमा युवा संघ अनेरास्ववियुका केन्द्रीय सदस्य डम्बर अधिकारी, युवा संघ झापाका संयोजक शम्भु भण्डारी, नगर अध्यक्ष राम पौडेल र अनेरास्ववियूका जिल्ला अध्यक्ष समर्पण खतिवडाले मन्तव्य राखेका थिए ।