अध्यक्ष पदमा राजेन्द्र घिमिरे उम्मेदवार

भद्रपुर । नेपाल उद्योग वाणिज्य महासङ्घको महाधिवेशन सकिएसँगै प्रदेश नं १ मा उद्योगी–व्यसायीबीच चुनावी चहलपहल सुरु भएको छ । यही पुस ११ गतेका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ को निर्वाचन हुने भएपछि उद्योगी–व्यवसायी माझ चुनावी चहलपहल बढेको हो ।

यसैक्रममा, झापा उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घ १ नं प्रदेशको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीका लागि सङ्घका पूर्व अध्यक्ष राजेन्द्र कुमार घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सङ्घको सम्पन्न नियमित मासिक बैठकमा कार्यसमितिले मताधिकारसहित घिमिरेको नाम सर्वसम्मत निर्णय गरेको महासचिव पङ्कज शर्माले बताए सर्वसम्मत सिफारिस गरिएका घिमिरे दुई कार्यकाल झापा उद्योग वाणिज्य सङ्घको नेतृत्व सफलतार्पूक निर्वाह गरिसकेका परिश्रमी उद्यमी हुन् । मुलुकमा माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला सङ्घको अध्यक्ष रहेका घिमिरेले झापालाई बन्द मुक्त क्षेत्र बनाउन निकै प्रयास गरेका थिए । दुई कार्यकाल सकेर सङ्घबाट बिदा लिएपछि नेपाल अलैँची व्यवसायी महासङ्घको संस्थापक अध्यक्ष बनेर अलैँची व्यवसायी तथा किसानलाई गोलबद्ध गरी अलैँची क्षेत्रको समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेलेका घिमिरे स्पष्ट र प्रखर वक्ताका रुपमा पनि परिचित छन् ।

बैठकले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित सङ्घका निवर्तमान अध्यक्ष उमेश डालमियालाई बधाई–शुभकामना दिएको थियो । सङ्घको निर्णयलाई स्वागत गर्दै घिमिरेले आफू सदैव उद्योगी–व्यवसायीको पक्ष र हितमा उभिने गरेको स्मरण गराउँदै प्रदेशको नेतृत्व सम्हाल्ने अवसर पाए संस्थागत विकास र औद्योगिक–व्यासाियक हितका लागि समर्पित रहने प्रतिक्रिया दिएका छन् । घिमिरेले मतका लागि प्रदेशका मतदाता उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन् ।