नाका खुला गर भन्दै काँकरभिट्टामा शान्तिपूर्ण धर्ना

भद्रपुर १ पुस । बन्द सीमा नाका खुला गर भन्दै झापाको काँकरभिट्टामा शान्तिपूर्ण रुपमा धर्नामा बसेका मानिसहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । होटल, पर्यटन व्यवसायी र स्थानीयबासीहरुले बन्द नाका खुला गर भन्दै विरोध प्रदर्शनसहित धर्नामा बसेकालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले हस्तक्षेप गरेको हो ।

बन्द नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टा स्थित मेचीपुल, बसपार्क लगायत बजारमा जुलुस प्रदर्शनपछि वीचसडकमा धर्ना दिएका थिए । शान्तिपूर्ण धर्नामा बसेका एकसय भन्दाबढी मानिसहरुलाई प्रहरीले हातपात गर्दै तितरवितर पारेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले बताए । ‘काँकरभिट्टाको वीचसडकमा जुलुसपछि केहि समयका लागि धर्ना कार्यक्रम राखेका थियौँ’ अध्यक्ष श्रेष्ठले भने–‘जिल्लाबाट एसपीको गाडी आइपुग्यो । गाडीलाई हामीले रोक्यौं । जताबाट आएको थियो उतै फर्काइ दियौँ एसपीको गाडी फर्के लगत्तै काँकरभिटका डीएसपी राजेन्द्र पोखरेलको कमाण्डमा आएको टोलीले धर्नामा बसेकालाई तितरवितर गरेका थिए । होटल व्यवसायी संघका अध्यक्ष श्रेष्ठ र ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र)लाई पक्रेर गाडीमा हाल भन्ने आदेशपछि प्रहरीले उनीहरलाई पक्राउ गर्न खोज्दा धर्नामा बसेका महिला तथा अन्य मानिसहरुले रोकेका थिए । शान्तिपूर्ण जुलुस र धर्नामा प्रहरीको हस्तक्षेप निन्दनीय भएको भन्दै उनीहरुले भत्र्सना गरेका छन् । अध्यक्षद्वय श्रेष्ठ र कार्कीले नाका नखुले झन कडा आन्दोलन गर्ने बताएका छन् ।