भद्रपुरको आधुनिक शहर भत्केको र चर्केको
भद्रपुर, १ पौष । भद्रपुर नगरपालिकालाई आधुनिक शहरका रूपमा विकास गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०७३/०७४ बाट सुरू गरिएको सडक स्तरीकरणका काम मापदण्ड अनुरुप नहुँदा भत्कने, चर्कने क्रम देखिन थालेको छ ।
गएको चार आर्थिक वर्षबाट सघन शहरी विकास कार्यक्रम अन्र्तगत सडक विस्तार योजनाको काम सुरू भए पनि नियामकको इमान्दार भूमिका नरहँदा सडक निर्माण गुणस्तर मापदण्ड अनुरुप नहुँदा विवादमा परेको हो ।
५ वर्ष भित्र नगरका सवै सडकहरू आधुनिक शहरको मापदण्ड अनुसार स्तरीय भइसक्ने विश्वास लिइएको यस आयोजनाले दीर्घकालिन लक्ष्य पूरा गर्न सक्नेमा आशंका पैदा गराएको स्थानीयको आरोप छ । यस आयोजना अन्र्तगत अघिल्ला चार आर्थिक वर्षमै काम सुरू भएका केही सडक स्तरीकरण योजनाका नाली निर्माण तथा कालोपत्रेका कार्य सुरुवात चरणमा नै विवादमा आए पनि राजनीतिक सहमतिमा रातारात मिलाएर कमिसन बाँडेको आरोप भद्रपुरका दलहरुलाई लागेको थियो । त्यतिबेला पहिलो पटक चन्द्रगढीको लेखनाथ चौकदेखि महेशपुरको मन्त्री चौकसम्म जोड्ने भद्रपुर नगरको फाष्टट्रयाकका रूपमा परिचित सडकको नाली बन्दा बन्दै ढल्यो । गुणस्तरको आवाज उठाउने स्थानीय नागरिक विचरा भएर आफ्ना घर अगाडिका कमजोर सडक संरचना हेर्न बाध्य बन्नु परेको थियो ।
अहिले तेस्रो र चौथो चरणमा निर्माण भइरहेका सडकका नालीको काम स्तरहिन भएको आवाज उठ्न थालेको छ । यस कार्यक्रम अन्र्तगत ६ वटा प्याकेज भित्र २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको छ । भद्रपुर नगरमा सडक विस्तारका काम गरिरहेका ठेकेदार कम्पनीलाई कमसल निर्माण सामग्री प्रयोग गरेको, तोकिएको अनुपातमा पर्खाल नलगाएर साँघुरो शैलीमा काम गरिरहेको, ढलान गर्दा गिटी, बालुवा र सिमेन्टको परिणाम नमिलाएको, कालोपत्रे गर्दा अलकत्रोको परिणाम कम लगाएको आरोप लाग्ने गरेको छ । तर ठेकेदार कम्पनीका पक्षधरहरू सघन शहरी विकास तथा भवन निर्माण डिभिजनको निर्देशनमा गुणस्तरीय काम गरिरहेको जनाउँ दिने गरेका छन् ।
बन्दा बन्दै सडकका नालाका पर्खाल चर्किरहेको, कालोपत्रे उक्किएका दृष्यले गुणस्तरहिनताको पुष्टि गरिरहेको स्थानीय विष्णु राजवंशीको गुनासो छ । नियामक कता हराए ? पचासौं वर्षको यात्रा झेल्ने सडक नाली दुईचार वर्षमै ढल्ने, कालोपत्रे एक वर्ष पनि नटिक्ने गरी निर्माण भइरहँदा गुणस्तरीयता खोजिनु पर्दैन त ? भन्दै राजवंशी कमिसनमा होइन विकास निरन्तरताका लागि हो भन्छन् ।
नियामक इमान्दार भएर सडक निर्माण स्थलमा नगएको अरविन्द अधिकारी बताउँछन् । उनका अनुसार गुणस्तरीयता कायम राख्न सरकारी पक्षको इमान्दारिता नरहँदा समस्या बढेको हो ।
स्थानीय नागरिककोे पहिलो सरकार भद्रपुर सरकारको नजर समेत यी सडकहरूमा नपरेको पनि निर्माण स्थल आसपासका नागरिक बताउने गर्छन् ।
सडक निर्माणमा एक रूपता नहुने कारण नगर प्रशासनको उदासिनता हुन सक्छ भन्दै स्थानीय यस्तै अवस्था रहने हो भने यो आयोजनाको औचित्य विकासका लागि भन्दा पनि राज्य कोष दोहनका लागि मात्र हुने बताउँछन् । समृद्ध भद्रपुरका लागि सडक स्तरीकरण अपरिहार्य आवश्यकता हो भन्दै नगरबासी मापदण्ड अनुसारको गुणस्तरसहित सकड बनिनु पहिलो शर्त हुने भनाइ राख्छन् ।