इस्टु झापाको खोजी पूर्ण पारिश्रमिक नदिनेलाई किन कारवाही भएन ?

भद्रपुर, २९ मंसीर । झापामा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीले जोखिम मोलेर विद्यालयमा भौतिक रूपमा शिक्षण गरिरहेका भए पनि पूर्ण रूपमा पारिश्रमिक नपाएको उजुरीको बारेमा श्रम तथा रोजगार कार्यालय भद्रपुरमा प्रगति विवरण बारे उजुरी समितिले खोजविन सुरू गरेको छ ।

कोभिड १९ संक्रमणको बाहना बनाएर विद्यालय सञ्चालकहरूले शिक्षक कर्मचारीलाई पूर्ण पारिश्रमिक दिन आनकान गरेपछि अशोज अन्तिम साता झापा प्याब्सन तथा एन प्याब्सन बिरूद्ध उजुरी दिएको इस्टु झापाको उजुरी समितिले हालसम्म पनि पूर्ण पारिश्रमिक नपाएपछि नियामक श्रम तथा रोजगार कार्यालय भद्रपुरमा प्रगति विवरण माग गरिएको हो ।

उजुरी समितिका संयोजक राजु वरालले श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रमुख दुर्गाप्रसाद आचार्यसित बौद्धिक श्रमिक शिक्षक कर्मचारीको पूर्ण पारिश्रमिकका लागि दुई महिने अवधिमा के के प्रगति भयो भन्ने जिज्ञासा राखेपछि प्रमुख आचार्यले प्याब्सन, एन प्याब्सन झापाको कार्यालयमा स्पष्टिकरण पत्र बुझाउनलाई पटक पटक कार्यालयमा पुगिए पनि ताला बन्दको अवस्था पाइएकोले इमेत मार्फत चिठी पठाइएको जानकारी दिँदै जवाफ नआएकोले नयाँ सिराबाट कारवाही प्रकृयामा जाने तयारी थालेको जानकारी दिए ।

गत असारदेखिनै वैकल्पिक शिक्षण गराइ रहेका झापाका अधिकाम्स विद्यालयमा मंसीर दोश्रो साताबाट भौतिक रूपमै कक्षा सञ्चालन भइरहेका छन् । यस बीचमा झापाका कुनै पनि विद्यालयले शिक्षक कर्मचारीलाई पूर्ण पारिश्रमिक दिएको अवस्था छैन भने विद्यार्थीबाट पूर्ण शुल्क उठाइरहेको अवस्था छ ।