गौरादहमा ट्राफिक प्रहरी पोष्ट भवनको उद्घाटन

गौरादह २८ मंसिर । झापाको गौरादहमा जनसहभागितामा निर्मित ट्राफिक प्रहरी पोष्ट भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको आज एक कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र नगर प्रमुख रोहित कुमार साहले संयुक्त रूपमा उद्घाटन गरे । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गौरादहको अस्थायी ट्राफिक पोष्टलाई स्थायी बनाई थप प्रहरीको दरबन्दी थपका लागी पहल गरिसकिएको बताए ।

भवनको उद्घाटनसंगै नवनिर्मित भवन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई हस्तान्तरण समेत गरिएको निर्माण समितिका अध्यक्ष गणेश श्रेष्ठले वताए । करिब ३ बर्ष अघि सो भवन निर्माण शुरु भएको थियो ।

भवन वनाउन अध्यक्ष श्रेष्ठका पिता रत्नबहादुर श्रेष्ठले ४९५ बर्ग मिटर क्षेत्रफल जग्गा निशुल्क उपलव्ध गराएका थिए । त्यस जग्गामा दातासहित प्रदेश सरकार र स्थानीय बासिन्दाहरुको सहयोगमा गणेश पाञ्चायन मन्दिर सहित ४ कोठे पक्की भवन निर्माण गरिएको गौरादहका ट्राफिक प्रहरी प्रमुख शंकर प्रसाद यादबले जानकारी दिए ।भवन निर्माणमा प्रदेश १ सरकारको रु ११ लाख , नगरपालिका तथा स्थानीयहरुको सहयोग गरि कुल रु ३४ लाख ११ हजार लागत रहेको जनाईएको छ ।

त्यस अवसरमा जग्गादाता श्रेष्ठसहित भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा गौरादह नगरपालिकाप्रमुख रोहित कुमार साह , नगर उप – प्रमुख गिता भेटवाल , प्रदेश न १ ट्राफिक प्रहरी प्रमुख सन्जिब शर्मा दास , जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रकाश जबेगु , जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइराला ,ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख नारायण कुँवर , गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।