प्रदेश नं. १ को नाम कोच प्रदेश हुनुपर्ने

भद्रपुर । प्रदेश नं. १ लाई कोच प्रदेश घोषणा गर्नु पर्ने र कोच समुदायबाट मन्त्री बनाईनु पर्ने मागसहित हस्ताक्षर संकलन अभियान थालिएको छ । झापा, मोरङ र सुनसरीमा जनस्तरबाट संचालन गरिने त्यस अभियानबाट एक लाख हस्ताक्षर संकलन गरी कोच प्रदेश घोषना गर्नु पर्ने र मंन्त्री बनाईनु पर्ने आधारपत्रसहित प्रदेश सरकारलाई बुझाउने कार्यक्रम रहेको कोच प्रदेश दस्तावेज मस्यौदा समितिका संयोजक विद्यानन्द राजवंशीले बताए । आगामी पुष १५ गतेसम्म हस्ताक्षर संकलन गरिसक्ने लक्ष्य रहेको छ । त्यसका लागि प्रत्येक स्थानीय तहमा टोली खटाइएको संयोजक राजवंशीले जानकारी दिए । कोच प्रदेशको नामकरणसँगै १ नं. प्रदेश सरकारमा कोचको एकजना मन्त्री अनिवार्य गरिनु पर्नेसमेत आफूहरुको माग रहेको उनले बताए । ‘किरात , लिम्बुवान सबैको प्रतिनिधित्व सरकारमा भइरहेको अबस्थामा कोचहरुको पनि अनिवार्य प्रतिनिधित्व हुनुपर्छ’उनले भने ।

१ नं. प्रदेशलाई कोच प्रदेश नामकरण गर्नका लागि ऐतिहासिक आधार प्रमाणसहितको आधार पत्र तयार गर्न कोचिला राष्ट्रिय मुक्ति मोर्चाले गत अरोज २७ गते ९ सदस्यीय कोच प्रदेश दस्तावेज मस्यौदा समिति गठन गरेको थियो । समितिले ४४ पृष्ठको आधार पत्र तयार पारेको छ । संकलित हस्ताक्षर र आधार पत्र एकैपटक मुख्यमन्त्री शेरधन राईलाई बुझाउने कार्यक्रम रहेको संयोजक राजवंशीले जानकारी दिए । अबको सातौं हिउँदे अधिवेशन अघि नै सो माग बुझाउने कोचहरुको योजना छ ।