मेचीनगर र गौरीगन्जमा अस्पताल शिलन्यास
भद्रपुर १५ मंसिर । झापाको गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार प्रदेश नं. १का आन्तरिक मामिला तथा कानुन मंन्त्री हिक्मत कुमार कार्कीले शिलान्यास गरेका छन् ।
गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार १८ करोड रूपैयाँको लागतमा अस्पताल निर्माण हुन लागेको हो । त्यसमध्ये ३ करोड २३ लाख रूपैयाँ निर्माण कार्य शुरूवात गर्न गाउँपालिकामा प्राप्त भएको छ ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यकार्यक्रममा अस्पताल सञ्चालनका लागि पालिकासँग समन्वय गरेर नेपाल सरकारले काम गर्न लागेको जनाईएको छ । आगामी दुईवर्षभित्र काम सम्पन्न गर्ने गरि अब गाउँपालिकाले टेण्डर प्रक्रिया शुरु गर्ने छ ।
गौरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा यसअघि पनि २५ शैय्याको अस्पताल निर्माण भईसकेको छ । प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी गौरीगंजलाई स्तरोउन्नति गरि २५ शैय्या अस्पताल निर्माण भएको हो । उत्त भवन ३ करोड ६२ लाख रूपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । हाल उत्त भवनमा ५ वेडको कोभिड अस्पतालको रूपमा सञ्चालनमा छ ।
यसैगरी आजै झापाको मेचीनगर —१० को धुलावारीमा सोमवार १५ शैयाको अस्पतालको शिलान्यास भएको छ । शिलान्यास भई निर्माण हुन लागेको आधारभूत अस्पतालको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा शिलान्यास गरे । नेपाल सरकारको २ सय ५० वटा पालिकामा सोमबार एकसाथ अस्पताल शिलान्यास गर्ने योजना अनुसार मेचीनगरमा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।