समृद्ध भद्रपुरको सपनामा तुँवालोको छाँया
विकासका दृष्टिले झापाका शहरहरूको भीडमा पुरानो नगर भद्रपुर निकै पछाडि छ । यस नगरको उन्नतिमा उत्तरी झापा बाधक भएको तथ्य भुल्न सकिदैन । भद्रपुरमा बास बस्ने तर उत्तरको उन्नति मात्र सोच्ने राजनीतिक नेतृत्व पहिलो बाधक बन्न पुगेको बिर्सनु हुँदैन । २०२८ साल अगाडिसम्म सम्पन्न भद्रपुर राजमार्ग उत्तर सरेपछि विस्तारै उजाड हुँदै गएको हो । विगतमा जे भए पनि अहिले भद्रपुरको सम्पन्नतासित चन्द्रगढी विमान स्थल र मेची पुल प्रमुख आधार हुन सक्ने सत्य बिर्सनु हुँदैन । विजयकुमार गच्छेदारको कृपाले बल्लतल्ल भद्रपुर स्थित मेची नदीमा निर्माण सम्पन्न भएको मेची पुल बनिएर पनि सही उपयोगमा आउन सकेको छैन । चन्द्रगढी विमान स्थल स्तरीकृत आयोजना पनि सरकारका स्वार्थी प्रतिनिधिहरूको कमाउने भाँडो बनाइने खेल हुँदा सधैँ बिवादमा परिरहेको छ । कहिले उत्तर दक्षिण मुहडा विवाद त कहिले पूर्व पश्चिम धावन मार्ग मुअब्जा विवाद जसले निर्माण मै अवरोध सिर्जना गर्ने गरी विवाद जन्माइरहेको छ ।
मेची नदीमा पुल बनाउने योजना २००८ सालदेखि सुरु भएपनि यसले मुर्तरुप लिन ६० वर्ष पर्खनु परेको थियो । सदरमुकाम रहेको भद्रपुरबाट भारत जान मेची नदीमा पक्की पुलको आवश्यकता बढेर गएको भए पनि सरकारी बेवास्ताले ६ दशक अन्यौलमै बितेको प्रष्ट छ । पुल निर्माण सम्पन्न हुन भण्डै दशक पर्खनु परो । निर्माण सम्पन्न भएको मेची पुल सडक सञ्जालमा नजोडिएका कारण भारतबाट ठूला सवारी साधनमा सामग्री आयात वा नेपालबाट भारत निर्यात गर्न सक्ने अवस्था छैन । नेपाल तर्फ भन्सार छ तर भारतले भन्सारको व्यवस्थापन नगर्दा आयात निर्यातमा पूर्ण रूपमा सहजता छैन । जसको असर राजश्व संकलनमा प्रत्यक्ष परिरहेको छ । नेपाल तथा भारतका कर्मचारीको तजविजमा आयात निर्यात व्यापार भर पर्दा चोरी तस्करी बढ्दो छ । नियामकको जिम्मेवारी पाएका सरकारी पक्ष व्रम्हलुट मच्चने गरी दुई हातले सोहोरी रहेका छन् । समृद्धिको सपनामा यिनै छिद्रहरूले प्वाल पारिरहेको सत्य बिर्सनु हुँदैन ।
पछिल्लो समय चन्द्रगढी विमानस्थलमाथि धावा बोलेर केही भूमाफिया सक्रिय भएर लागेका छन् । त्यसलाई मलजल गर्ने काम उत्तरका केही नव धनाढ्यले गर्दैछन् । २०२१ सालमा भद्रपुरका स्वयम्भूलाल श्रेष्ठको परिवारले निशुल्क दिएको करीब ५० विगाहा जग्गामा निर्माण भइ अहिले केही जग्गा थपेर १२ महिना सहजै चल्ने बनाइएको विमानस्थलको मूल ढोकामा लात्तले हान्न थालिएको अवस्था छ । भइरहेको विमानस्थलको दक्षिण तर्फको मूल ढोकालाई उत्तरतिर फर्काउने र टर्मिनल भवन पनि सार्ने गरी सरकारी पक्षले डिपिआर तयार पारिसकेको छ । अहिले भइरहेको प्रवेशद्वार प्राविधिक, भौगोलिक, शान्ति सुरक्षा, यातायात, यात्रुको आवागमन बजार सुविधा आदि सबै दृष्टिबाट उपयुक्त छ । तर, उत्तरी भागमा जग्गा किनेर चलखेल गर्न सुरु गरेका भूमाफियाले भद्रपुरका जिम्मेवार जनप्रतिनिधिलाई समेत साझेदार बनाएर घडेरी बेच्ने खेल अगाडि सारेपछि विवाद उग्र हुँदै गएको हो । अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउने भनेर हल्ला फैलाएर डिपिआर बनाउन भूमिका खेलेका माफिया सञ्जालले विमान स्थल उत्तर दक्षिणका बासिन्दालाई लडाउन समेत प्रपञ्च रचिसकेको अवस्था छ ।
बल्ल बल्ल मेची पुल बनियो सहज सञ्चालनका लागि सडक निर्माणमा ढिलासुस्ती किन हुँदै छ ? खोजी गर्ने दायित्व कस्को हो ? चन्द्रगढी विमान स्थल स्तरीकरण हो कि कसैको व्यापार बढाउने खेल ? प्रवेशद्वार सार्नु पर्ने बाध्यता के ? सत्य तथ्य खोजी गरी विरोध वा समर्थन गर्नु पर्ने होइन ? भद्रपुर नगरको समृद्धिको आधारका रूपमा रहेका विमान स्थल र मेची पुल भद्रपुरबासीको उन्नतिका लागि उपयोग हुने वातावरण निर्माण गरिनु पर्छ । समृद्धिमा तुवाँलो ल्याउने काम नगरौं सत्य र तथ्यका आधारमा संरचनाको जीवन्त उपयोगको अवसर सिर्जना गरौं ।