झापाको एघार स्थानीय तहमा अस्पताल निर्माण हुने

भद्रपुर ७ मंसिर । झापाका ११ वटा स्थानीय तहमा १०देखि १५ शय्याका अस्पताल निर्माण हुनेभएका छन् । मंसीर १५ गते भित्र सबै अस्पताल शिलान्यास गरिसकिने कार्यक्रम रहेको छ ।

जस अनुसार झापाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको छ । बिर्तामोडस्थित अनारमनी स्वास्थ्य चौकी, गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकी, कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल निर्माण हुन लागेका हुन् ।

त्यस्तै बाह्रदशी गाउँपालिकाको राजगढ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल निर्माण गरिँदैछ भने बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकी, झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीलाई १०÷१० शय्याको अस्पताल बनाइँदैछ । यसैगरी कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शय्या, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्या र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शय्याको अस्पताल निर्माण हुन लागेको हो ।