समृद्ध नेपाल, सुखी नेपाली यही हो त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेकोे तीन वर्षे अवधि पार गर्दै गर्दा ओलीको बोली र व्यवहार कहिलै समान कित्तामा हिँडेको देख्न पाइएन । उनले दिनहुँ भाषण गर्ने समृिद्धको नारा सार्थक बनाउन उनको सरकारले कस्तो रणनीतिक खाका तयार गरेको छ ? आजसम्म नेपाली जनता माझ सार्वजनिक हुनै सकेको छैन । समृद्ध नेपाल सुखी नेपाली बनाउन भाषणले मात्र हुन्छ कि, के कस्ता कार्यक्रमहरू बनाइनु पर्छ ? आम नेपालीको चाहना पनि त्यसको उत्तर आओस् भन्ने हो । समृिद्धका लागि बजेट कति लाग्ने र स्रोत कसरी जुटाउने खाकाविना बोलेर मात्र हुँदो रहेन छ । जुनसुकै मुलुक वा संस्थाले सार्वजनिक गर्ने कार्यक्रम र लिएका लक्ष्य प्राप्तिका लागि स्पष्ट खाका तयार गरेपछि नेतृत्वकर्ताले मुख खोल्ने परम्परा हुन्छन् तर हाम्रो देशका प्रधानमन्त्रीले लक्ष्य प्राप्तिका लागि कार्यक्रम, बजेट, सीमा, जनशक्ति, समयावधी, उपलब्धीलगायत सबै विषय समेटिएको खाका तयार नगरिकनै भाषणमा समृद्धि हाँकी रहेको भान तीन वर्षे राज्यरोहणको कार्यशैलीले देखाइरहेको छ । विकास र समृद्धिको महत्वाकांक्षी अभियानको स्वामित्वका लागि राजनीतिक स्थायित्व अपरिहार्य हुन्छ । नेपाल लामो राजनीतिक तदर्थवादपछि एउटा नयाँ राजनीतिक प्रणालीलाई आत्मसात गरेर आधुनिक राज्य बन्ने अपेक्षामा छ । यस माहान कार्य पूर्ण गर्न नेकपालाई बलियो जनमत दिइएको थियो । नेकपा भित्र गुटगत स्वार्थ हावी हुँदा राजनीतिक नेतृत्वमा सबलता देखिन सकेन । ओली र प्रचण्ड खेमा निर्माण गरी दैनिक सत्ता तानातानका लागि जुहारी मात्र चलिरहेको छ । यसबेला स्थीर राजनीति कहाँ छ त ? प्रश्न उठिरहेको भए पनि नेतृत्व पक्षसित उत्तर दिने फुर्सद छैन ।

सरकारले प्राप्त गर्ने उपलब्धीका लागि वार्षिक बजेटमा पनि लक्ष्य तोकिन्छ, त्यसलाई सफल बनाउन कार्यक्रम बनाइन्छ, स्रोत खोजिन्छ र विनियोजन गरिन्छ । सरकारले कुन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन खोजेको हो ? जलस्रोतको विकास गरेर, उद्योगधन्दा चलाएर, पर्यटक आगमन बढाएर, आन्तरिक उत्पादन वृद्धि गरेर, युवालाई वैदेशिक रोजगारीमा पठाएर वा अन्य तरिकाबाट ? जनतालाई सुखी कसरी बनाउने हो र यसको मापदण्ड के हो ? अहिलेसम्म प्रष्ट पार्न सकेको छैन ।

सरकार विदेश नीतिमा पनि चुकिसकेको छ । एउटै पार्टीका दुई अध्यक्षले बोल्ने गरेको बोली विदेश नीतिमा कहिलै मेल खाने गरेको छैन । दोहोरो पक्ष लिएर सत्तासिन दलले नेपालको वैदेशिक मामिला धमिलिएपछि आन्तरिक राजनीति चलमलाउने क्रम पनि सुरू भएको छ । सरकार यस्तै अन्यौल र अपारदर्शीतामा अलमल हुने हो भने समृद्धिको बाटो कताबाट आउने हो ? दुईजना अध्यक्ष भएको विश्वको एकमात्र कम्युनिस्ट पार्टी बनाएर आपसमा बोली मिलेजस्तो देखाइए पनि मन मिलेको कहिलै देख्न पाइएन । विविध प्रकरण हेर्दा नेकपाको राजनीतिको केन्द्रस्थलमा झन भ्वाङ परेको प्रष्ट हुँदैछ ।

कम्युनिष्ट सरकार मानिएको समाजवादी भाषण गर्ने सत्तासीनहरूमा देखिएको अकुण्ठित पुँजीवाद वैचारिक अन्योलको उदाहरण बनेको छ । यस कारण वर्तमान सरकारको आर्थिक संरचनागत परिवर्तनबारे कुनै दृष्टिकोण नै देखिएन । भाषणमा इमान र क्षमताको कदर भनिन्छ । व्यवहारमा भ्रष्ट र आफ्नो मान्छेको हाबी छ । यो यथार्थलाई विदेशी र स्वदेशी लगानीकर्ता दुवैले हेरेका छन् । देशको समृद्धिका लागि लगानी आउने संभावना पनि छैन । नामले कम्युनिष्ट देखिएको सरकारका काम उग्र सामन्तवादमा हराइ रहेका छन् । वर्तमानको बलियो जनमत प्राप्त सरकार र विगतका अस्थिर भनिएका सरकारका कार्यशैलीमा कुनै फरकपन नागरिकले महसुस गर्न पाएका छैनन् । जनतामारा भ्रष्टाचार, दुराचार, अन्याय, घुषखोरी घटेको अवस्था छैन । जवसम्म यी बेथितिको अन्त्य हुँदैन तबसम्म समृद्ध नेपाल, सुखी नेपाली भाषणबाट बाहिर आउँदैन । कोरोना कहरबाट नागरिक उकास्ने नीति सरकारसित रहेन । श्रमजीविले काम गरेर पनि पारिश्रमिक पाउन सक्ने अवस्था निर्माण भएन । सत्तामा लुछाचुडीका लागि नेकपा भित्र मारामार मात्र रहिरह्यो । के समृद्ध नेपाल, सुखी नेपाली यही हो त ?