ईन्द्रेणी ताल पर्यटकहरुको आर्कषण वन्दै

दमक । पर्यटकीयस्थलको रुपमा विकास हुदैआएको झापाको दमक १० स्थित ईन्द्रेणी ताल पछिल्ला समय आन्तरिक पर्यटकहरुको आर्कषण वन्दै गएको छ । तालमा मनोरञ्जनका लागि घुम्न आउने संख्या बढ्दो क्रममा रहेको स्थानीय लोकेश न्यौपानेले बताए । उनका अनुसार दमकसहित त्यस आसपासका मानिसहरु रमाइलो गर्न तथा सामाजिक सञ्जाल टिकटकमा दृष्य कैद गर्नका लागि यतिबेला दैनिकजसो इ्रन्द्रेणीतालमा आउन थालेका छन् ।

पूर्वपश्चिम राजमार्गको दमक चौकबाट करिब साढे सात किलोमिटर दक्षिणमा यो ताल रहेको छ । यो तालसम्म पुग्नका लागि कालोपत्रे सडकको पनि निर्माण भईसकेको छ । केहिसमय अघि पूर्वमा नै निकै चर्चा पाएको यो तालको व्यवस्थापनमा खासै चासो जान नसक्दा लथालिङ जस्तै बनेको थियो । तर मुलुक संघीयतामा गएसंगै स्थानीय सरकार बनेपछि अहिले यो तालको भौतिक सुधारका कामहरु पनि अघि बढेको दमक वडानम्बर १० का वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।

तालको सुधार तथा संरक्षणका लागि ताल परिसरको दुबै किनारमा २० फुटे कच्ची सडक निर्माण गरि सकिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । स्थानीय युवाहरुको सक्रियतामा ताल परिसरको दुबै किनारमा विभिन्न प्रजातिका विरुवाहरु समेत रोपिसकिएको छ । निकट भविष्यमा नै यो तालमा पु्नः नौका सयरको व्यवस्था समेत गर्न लागिएको जनाईएको छ । विगतका दिनमा यो तालमा काठको डुङ्गा सञ्चालनमा रहेको भएपनि अब भने प्लाष्टिक तथा मोटरबोट सञ्चालनको तयारी भईरहेको स्थानीय हरिकृष्ण न्यौपानेले बताए ।