झापामा धानको उत्पादनमा बृद्धि

भद्रपुर ५ मंसिर । अघिल्लो वर्षको तुलनामा यसवर्ष झापामा धानको उत्पादन बढेको छ । रोग कीराको प्रकोप घट्नुका साथै धान खेतीको क्षेत्रफल पनि बढेकाले उत्पादनमा बृद्धि भएको हो ।

क्षेत्रफलमा भएको बृद्धि, उन्नत जातको बीउको प्रयोग र पर्याप्त सिँचाइ सुविधा लगायतका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्लामा धानको उत्पादन बृद्धि भएको हो । कोरोनाका कारण खेती किसानीमा पर्याप्त श्रम शक्ति खर्चिएकाले पनि उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र झापाका अर्थ कृषिविज्ञ शालिकराम भट्टराई बताए ।

बयसवर्ष झापामा चार लाख १५ हजार छ सय २५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष तीन लाख ८१ हजार नौ सय ३७ मेट्रिकटन धान उत्पादन भएको थियो । नेपालमा सबै भन्दाबढी धान उत्पादन हुने जिल्लाका रुपमा रेकर्ड बनाएको झापामा यसवर्ष किसानले ८५ हजार ७ सय ५० हेक्टरमा धान खेती गरेका थिए ।अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल नौ सय ७५ हेक्टर थपिएको हो । धान उत्पादन बढे पनि उचित मूल्य नपाउने झापाका किसानलाई चिन्ता छाएको छ ।