छठ् पर्वको दोस्रो दिन आज खरना
भद्रपुर । सूर्यको उपासना गरी मनाइने छठ् पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी व्रतालु दिनभर उपवास बस्ने गर्दछन् ।
बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ ।
यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्दछन् ।