सडक दुर्घटनामा २ को मृत्यु
बिर्तामोड ३ मंसिर । बिर्तामोड ६ गिरी मन्दिरस्थित सडकखण्डमा आज विहान ट्रकको ठक्करबाट बालकसहित दुई जनाको मृत्यु भएको छ भने दुईजना सख्त घाइते भएका छन् । बिहान ११.२५ बजेतिर पूर्वतर्फ जादै गरेको मे २ प ४८४७ नं मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ३१०२०४२उब ७९८२ नं को अनटेष्ट मोटरसाइकल एकापसमा जुधेर सडकमा लडेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३५० नं को ट्रकले किल्चदा घटनास्थलमै बालकसहित दुई जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परेर मे २ प ४८४७ नं को मोटरसाइकलका चालक बुद्धशान्ति ३ का २४ वर्षिय कुशल लिम्बु र पछाडि सवार सोही ठाउँका वर्ष ११ का दिप्सन कँडेलको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति ३ की ३९ वर्षिया सावित्रा कँडेल र अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा ११ का २२ वर्षिय गगन तामाङ सख्त घाइते भएका छन् । घाइतेहरुलाई बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना गरिएको छ । ट्रकले किचेपछि को१ च ९३१७ नं को स्कोरपियोले दुर्घटनाग्रस्त क्षेत्रमाथि बाट किचेर भागेको थियो । दुर्घटनापछि ट्रक चालक ट्रक छोडेर फरार भएका छन् भने किचेर भाग्ने स्कोरपियोलाई बुधबारेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।