सीमा पिलर ढल्न लाग्दा सुरक्षा बल रमिते मात्र
कचनकवल, २ मंसिर । दक्षिणी झापाको कचनकवल ४ स्थित पाठामारीमा रहेको नेपाल भारत सिमानाको मेचीकिनारको ११२ नम्बरको जंगे पिलर ढल्ने अवस्थामा पुगे पनि नेपाल भारत सिमा सुरक्षा बलले संरक्षणका लागि पहल गर्न नसकेको पाइएको छ ।
केही वर्षयता पूर्वी तटबाट मेची नदी निरन्तर पश्चिमतिर बहाव बढ्ने क्रम निरन्तर रहँदा नेपाल भारत सिमाना छुट्याउने पिलर कटानका कारण ढल्ने अवस्थामा पुगे पनि दुवै देशका सुरक्षा बलले कटान रोक्न सरकारी ध्यानाकर्ष गराउन नसकेका हुन् ।
सीमा आसपासका बासिन्दाका अनुसार चार वर्ष अगाडिसम्म मेची नदीको बहाव एक किलो मिटर पूर्व नै रहेको छ । त्यसयता निरन्तर पश्चिमतिर धार परिवर्तन गरेको नदीको कटानका कारण सीमा क्षेत्रको नेपाल भारत दुवै देश तिरको सयौं बिगाह जमीन कटान गरिसकेको छ । नेपालीहरूले नेपालतिरको सरकार गुहार्दै नदी कटान रोक्न अनुरोध गरे पनि सीमा स्तम्भभन्दा एक किलोमिटर माथिसम्म तटबन्धनको काम ६ वर्ष अगाडिबाट सुरू भए पनि पूरा हुन सकेको छैन भने भारतीय पक्षले सो सीमा स्तम्भ आसपास तटबन्धनको विषयमा चासो नराखेको भारतीय नागरिकको भनाइ छ ।
नेपाल भारत दुवै देशको साझा सरोकारको विषय भए पनि दुवै देशका सरकारी पक्षको चासो सीमा पिलर जोगाउन नरहँदा ११२ नम्बर पिलर अर्को वर्ष देख्न पाइने नपाइने केही भन्न नसकिने स्थानीय नागरिक बताउने गर्छन् ।