कोरोनाभाइरस फैलिन नदिन मिन्क मार्ने निर्णय

एजेन्सी

भुँवा र रौंका लागि पालिने न्याउरी मुसाजस्तै देखिने जनावर मिन्कबाट सयौं मानिसमा कोरोना संक्रमण फैलिएपछि डेनमार्कले १ करोड ७० लाख मिन्क मार्ने भएको छ । पछिल्लो समय मानिसबाट मिन्कमा सरेको कोरोना भाइरस फेरि मानिसलाई आएको देखिएकाले मिन्कलाई मार्न लागिएको डेनमार्कले जनाएको छ । डेनमार्कका अनुसन्धानकर्ताहरूले मिन्कमा हुँदा कोरोनाभाइरसको जिनमा उत्परिवर्तन भएको देखिएको छ ।

मिन्कबाट आएको नयाँ कोरोनाभाइरस फैलिए अहिले बनाइरहेका भ्याक्सिनले काम नगर्ने ठानेर अधिकारीहरूले यति ठूलो संख्यामा मिन्क मार्न लागेका हुन् । मिन्कबाट फैलिएको कोरोनाभाइरस झन् डर लाग्दो हुन्छ कि हुन्न भन्ने एकिन नभए पनि पूर्वसावधानी स्वरूप यस्तो निर्णय गरिएको डेनिस अधिकारीहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले डेनमार्कबाट आएका रिपोर्टहरू ध्यान दिनुपर्ने खालका भए पनि मिन्कबाट आउने कोरोनाभाइरसको नयाँ स्ट्रेनले भ्याक्सिन विकासमा असर पार्छ कि पार्दैन भन्नेमा अझै अध्ययन गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।

मिन्कबाट मानिसमा अझ धेरै फैलन सक्ने क्षमता भएको कोरोनाभाइरस सरेपछि वैज्ञानिकहरूले अरू जनावरबाट पनि त्यस्तै भाइरस मानिसमा सर्न सक्छ कि सक्दैन भन्नेमा अध्ययन गरिरहेका छन् ।

अहिलेसम्म कुकुर, बिरालोलाई पनि कोरोनाभाइरस देखिएको छ तर उनीहरूको सम्पर्कमा आउका मानिसमा भाइरस सरेको देखिएको छैन ।