झापामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु
झापा । पूर्व गाविस सचिव एवम् भद्रपुर जेसीजका पूर्व अध्यक्ष कुमुदचन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
भद्रपुर ५ निवासी ६३ वर्षिय झाको आफ्नै घरमा बिहान ४:१५ बजे मृत्यु भएको हो । झा भद्रपुर जेसीजका सन् १९९६ का अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए । उनले लामो समय गाविस सचिव भएर काम गरेका थिए ।
त्यस्तै अर्जुनधारामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका वडा नं ६ की ८१ वर्षिया खरेल थरकी बृद्धा रहेकी छन् । उनको आज विहान ६:३० बजे घरमै मृत्यु भएको वडाध्यक्ष लोकनाथ गौतमले बताए । हिजो विराट मेडिकल कलेज विराटनगरमा गरेको पिसिआर परीक्षणमा उनलाई पोजेटिभ देखिएको थियो ।
त्यस्तै आज दिउँसो दमकका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ६ का ८३ वर्षिय थपलिया थरका बृद्ध रहेका छन् । उनको दिउँसो २ बजे विराटनगरको म्याक्स हस्पिटलमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । ती बृद्धलाई कात्तिक ८ गते उपचारका लागि विराटनगर लगिएको थियो । त्यसको दुईदिन अघि उनलाई संक्रमण पुष्टि भएको भट्टराईले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा २३ र जिल्लामा ६४ पुगेको छ ।