कोरोनाको खोप जनुवरीसम्ममा उपलब्ध हुनसक्ने

एजेन्सी

नियमन निकाय बाट अनुमति पाएमा आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप उपलब्ध भइसक्ने एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले बताएका छन् । नियमन निकायबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी उपलब्ध हुने कम्पनीका सिइओ पास्कल सोरियटले बताएका हुन् ।

“नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांकहरू निगरानी गरिरहेका छन् । हामीले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने जनवरीदेखि हाम्रो खोप उपलब्ध हुनेछ । अझ डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्नेछन्” एस्ट्राजेनेकाका सिइओ पास्कलका भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ

एंलो स्वीडिस कम्पनी एस्ट्राजेनेकाले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी खोप बनाइरहेको छ । एस्ट्राजेनेकाको खोपमा संसारका धेरैले चासो राखेका पनि छन् । परीक्षणको तेस्रो चरणमा पुगिसकेको भएकाले यो खोपले कोरोना भाइरस महामारीसँग लड्न सघाउने आशा धेरैको छ । एस्ट्राजेनेकाको खोप गत सेप्टेम्बरमै तेस्रो चरणको परीक्षणमा प्रवेश गरेको थियो । तर परीक्षणमा सहभागीमध्ये केही व्यक्तिमा असर देखिएकाले परीक्षण रोकिएको थियो ।

एस्ट्राजेनेकाको खोपका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन् ।

भारतीय बायोटेक, आइसिएमआर र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले पनि संयुक्त रूपमा खोप बनाइरहेको छ । उनीहरूले बनाइरहेको खोपमा पनि विकास देखिरहेको छ । अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ । त्यस्तै जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको बताइएको छ ।