आइपिएलको फाइनलमा मुम्बई

एजेन्सी

बिहीबार भएको पहिलो क्वालिफाय खेलमा दिल्ली क्यापिटल्स लाइ ५७ रनले पराजित गरेर मुम्बई फाइनलमा प्रवेश गरेको छ । योसंगै मुम्बई इन्डियन्स आइपिएलको पाँचौ उपाधि नजिक पुगेको छ ।

मुम्बईले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले खराब ब्याटिङ ग‍र्यो । दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन मात्र जोड्न सक्यो । दिल्लीका शीर्ष तीन ब्याट्सम्यान शून्यमा आउट भएका थिए । पहिलो ओभरको दोस्रो बलमा पृथ्वी शा र पाँचौ बलमा अजिन्का राहाणेलाई मुम्बईका ट्रेन्ट बोल्टले आउट गरेका थिए । दोस्रो ओभरको दोस्रो बलमा शिखर धवनलाई जसप्रित बुमराहले शुन्यमा बोल्ड गरेपछि दिल्ली सुरुमै संकटमा परेको थियो । दिल्लीका लागि मार्कोस स्टोइनिसले ६५ रन र अक्षर पटेलले ४२ रनको योगदान दिए ।

दिल्लीको इनिङ ध्वस्त पार्ने क्रममा मुम्बईका जसप्रित बुमराहले ४ विकेट लिए । उनले चार ओभरमा १ ओभर मेडन राख्दा १४ रन दिए । २ ओभर बलिङ गरेका बोल्टले १ ओभर मेडन राख्दै २ विकेट लिएर ९ रन खर्चिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा २०० रन जोडेको थियो । मुम्बईका लागि इशान किसनले नटआउट ५५ रन र हार्दिक पाण्ड्याले नटआउट ३७ रन जोडे । किसनले ३० बलमा ४ चौका र ३ छक्का हिर्काए । पाण्ड्याले १४ बलमा ५ छक्का हर्काए । त्यसअघि ओपनर क्वान्टन डी ककले ४० रन र सूर्यकुमार यादवले ५१ रनको योगदान दिए । बलिङमा दिल्लीका रविचन्द्रन आस्विनले ३ विकेट लिए । दोस्रो क्वालिफायमार जित निकाल्ने टिम र मुम्बईबीच उपाधि भिडन्त हुनेछ ।