कोरोना संक्रमित एक जनाले आत्म हत्या सहित ३ जनाको मृत्यू

झापा,१९  कात्तिक । झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । एकजनाले आत्महत्या गरेका छन् भने दुईजनाको मृत्यु भएको छ ।

दमककी एक कोरोना सक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी हुन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आफू सुत्ने कोठोमा रहेको सिलिङ फेनको हुकमा सलको पासो लगाएर उनले आत्महत्या गरेको जनाइएको छ ।

त्यस्तै दमकका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ का ६५ वर्षिय फौदसिंह राई रहेका छन् । उनको विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको थियो । त्यस्तै मेचीनगर नगरपालिका वडा नं १४ का एक ७० वर्षिय बृद्धको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएका ७० वर्षिय देवी चिमरिया अस्पतालको आइसोलेसनमा उपचाररत् थिए । उनको आज विहान ७।५० बजे मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५७ पुगेको छ ।