सरावगीलाई कोरोना संक्रमण पुष्टि

भद्रपुर १५ कात्तिक । प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा शुक्रबार उहाँमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

झापा भद्रपुरका स्थानीय बासिन्दा ७७ वर्षका सरावगी प्रदेश १ का सबैभन्दा जेठा नेपाली कांग्रेसबाट सांसद हुनुहुन्छ ।

दुई दिनअघि एकसय डिग्री भन्दा माथि ज्वरो आएपछि उहाँले पिसिआर परीक्षण गराउनु भएको थियो । सांसद सरावगीको स्वास्थ्य अवस्था सामान्य छ ।

उहाँसंगै उहाँका भाइ नन्दप्रकाश सरावगी र नातिलाई समेत संक्रमण पुष्टि भएको छ । अहिले सांसद सरावगी सहित तीनै जना होम आइसोलेसनमा रहेको कांग्रेस झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिनुभयो ।