बैंकिङ्ग कसुर मुद्दाका फरार अधियुक्त प्रसाईं पक्राउ

भद्रपुर ११ कात्तिक । बैंकिङ्ग कसुर मुद्दाका फरार अधियुक्त राजेन्द्रप्रसाद प्रसाईंलाई आज जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका प्रसाइका नाममा भगवती ढुङ्गेल र सुरेन्द्रकुमार उप्रेतीले छुट्टा छुट्टै जाहेरी दिएका थिए ।

सुरेन्द्र उप्रेतीको जाहेरी उपरको मुद्दामा उच्च अदालत बिराटनगर इजलाश इलामको मिति २०७६।०९।२१ गतेको फैसला बमोजिम प्रतिवादी राजेन्द्र प्रसाद प्रसाईलाई एक महिना कैद र ९०,००,०००।– (नब्बे लाख) बिगो सहित दुबै सजाय ठहरी फैसला भएको थियो । यसैगरी भगवती ढुङ्गेलको जाहेरी उपरको मुद्दामा उच्च अदालत बिराटनगरको इलाम इजलाशको मिति २०७६।०९।१४ गतेको फैसला बमोजिम प्रतिवादी राजेन्द्र प्रसाद प्रसाईलाई १ महिना कैद र रु. २५,००,०००।– (पच्चिस लाख) बिगो सहित दुबै सजाय ठहरी फैसला भएको थियो । दुवै फैसलाका बैंकिङ्ग कसूर मुद्दामा दुई महिना कैद र १,१५,००,०००।– (एक करोड पन्ध्र लाख) बिगो सहित जरिवाना ठहरिएका प्रतिवादी अभियुक्त प्रसाईं फरार भएका थिए । फरार अभियुत्तःको खोजतलाशको क्रममा बिशेष सूचनाको आधारमा आज मिति २०७७।०७।११ गते जिल्ला झापा कन्काई न.पा. वडा नं ०३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हाल जिल्ला अदालत बडादशैंको कारण बन्द रहेकोले बिदा पश्चात निज प्रतिवादीलाई अदालतमा उपस्थित गराईने जनाइएको छ ।