नेपाली कम्निस्टहरु सत्तासुखको वेदीमा
आफ्ना यावत् संकल्प र वाचालाई बलि चढाउँछन्
खगेन्द्र संग्रौला
—तपाईं दशैं कसरी मनाउनुहुन्छ ?यसपटकको दशैं मनाउने सन्दर्भमा तपाईंले कुनै विशेष तयारी र योजना बनाउनु भएको छ कि ?
म दशैँ मनाउँदिन । पारिवारिक र लोकदृष्टिमा असामाजिक नदेखिन केवल केही औपचारिकता निर्वाह गर्छु । यो असहमत सनातनसँग गरिने एक प्रकारको लाचार सम्झौता हो । गृहस्थ जीवनको पन्छाउनै नसकिने कठोर बाध्यता । दशैँमा नित्य दिनचर्या सिवाय मेरो कहिल्यै केही योजना हुँदैन । केही पढ्नु, केही लेख्छु भन्नु र प्रायः नलेख्नु, एकाधवटा कूलवन्धु र मित्रमिलन गर्नु, यदाकदा एक्लो र निख्लो अनुभूति गर्नु— बस् । यसपाला कोरोना महामारीग्रस्त याम छ । हरेक मानिस भयको अजङ्गको पर्वत बोकेर हिँडिरहेछ । हरेक मानिसका दृष्टिमा हरेक मानिस कोरोनावाहक हल्कारातुल्य छ । यस्तोमा दशैँको के विशेष तयारी र योजना हुनु ? एक्लोपना र दिक्दारीको अनुभूति गर्न मलाई कुनै योजना चाहिँदैन ।
हरेक मानिसका दृष्टिमा हरेक मानिस कोरोनावाहक हल्कारातुल्य छ । यस्तोमा दशैँको के विशेष तयारी र योजना हुनु ?
—राज्यले दशैंलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको छ । एउटा खास जाति,धर्ममा आधारित चाडबाडलाई बहुधर्म–संस्कृति भएको मुलुकमा राज्यले यसरी राष्ट्रिय चाडको रुपमा मनाउनु पुरानै संस्कार–संस्कृतिको निरन्तरता हो,त्यो फरक धर्म–संस्कृतिमाथि राज्यले लादेको उत्पीडनको निरन्तरता नै हो भन्ने एकथरीको मत छ । यसबारे तपाईंको भनाइ के छ ?
यो ‘राष्ट्रिय’ भन्ने संज्ञा नै विभेद र उत्पीडनको प्रतीक हो । दशैँ ‘राष्ट्रिय पर्व’ हो भने छठ के हो ? होली के हो ? इद के हो ? क्रिश्मस के हो ? उँभौली–उँधौली के हो ? अनेक लोसार के हुन् ? के नेपालका विभिन्न जाति–समुदायमा मानिने यी पर्वहरुचाहिँ कम राष्ट्रिय वा अराष्ट्रिय हुन् ? यो ‘राष्ट्रिय’ भन्ने अलङ्कार शासक जातीय श्रेष्ठता र अहङ्कारको द्योतक हो । यो अन्य पर्वहरुलाई कमसल, हेय, तुच्छ वा त्याज्यको कोटिमा राख्न वर्चस्वशाली जातद्वारा संगीनको बलले बलात् थोपरिएको मान्यता हो । यो मान्यता विद्वेषकारी, विभेदकारी, उत्पीडनकारी र विभाजनकारी तसर्थ सर्वथा अस्वीकार्य छ ।
—कम्युष्निट सिद्धान्त र संस्कृतिको आलोकमा धार्मिक उत्सव चाडपर्वहरुलाई कसरी लिइनुपर्छ ? हिजो दशैतिहार जस्ता चाडवाडहरु नमनाउने कम्युनिष्ट सिद्धान्तका पक्षधरहरुले गणतन्त्र आएपछि यस्ता चाडबाडलाई मज्जाले मनाएको देखिन्छ । यसलाई कुन रुपमा लिनुपर्ला ?
नेपाली कम्निस्टहरु प्रतिपक्षमा, सडकमा वा विद्रोहमा छँदा सनातनी रुढिग्रस्त र विभेदकारी संस्कार र संस्कृतिमा प्रगतिशील परिवर्तन, परिमार्जन र रुपान्तरण गर्ने कुरा गर्छन् । र, परिवर्तनका सुन्दर सपना र नाराको जलप लगाएर सनातनी परम्परा र संस्कृतिद्वारा उत्पीडित लोकका दृष्टिमा सुन्दर छविको निर्माण गर्छन् । त्यो छलकारी छविलाई भ¥याङ बनाएर जब सत्तारोहण गर्छन्, तिनले सत्तासुखको वेदीमा आफ्ना यावत् संकल्प र वाचालाई बलि चढाउँछन् । सधैँ देखिएको यस्तै छ ।
चलिआएका चाडपर्व र संस्कारहरुलाई प्रगतिशीलताका नाममा निषेध गर्न वा निमिट्याम्म पार्न सकिन्न । केवल परिवर्तनकामी चेतनाद्वारा निर्मित जनसम्मतिको सहाराले चाडपर्व र संस्कारहरुलाई शनैःशनैः अन्धविश्वासमुक्त, मानवीय, तडकभडक र दम्भरहित एवं कम खर्चिला र कम बोझिला बनाउने यत्न गर्न सकिन्छ । तर नेपाली कम्निस्टहरु जब सत्तामा उक्लिन्छन्, मानौँ आर्यघाटसम्म त्यही थोत्रो र सढेको सत्तामा लिप्त भइरहन ती स्वयंको पुरोहित्याइँकरणमा लिप्त हुन्छन् ।
चलिआएका चाडपर्व र संस्कारहरुलाई प्रगतिशीलताका नाममा निषेध गर्न वा निमिट्याम्म पार्न सकिन्न । केवल परिवर्तनकामी चेतनाद्वारा निर्मित जनसम्मतिको सहाराले चाडपर्व र संस्कारहरुलाई शनैःशनैः अन्धविश्वासमुक्त, मानवीय, तडकभडक र दम्भरहित एवं कम खर्चिला र कम बोझिला बनाउने यत्न गर्न सकिन्छ । तर नेपाली कम्निस्टहरु जब सत्तामा उक्लिन्छन्, मानौँ आर्यघाटसम्म त्यही थोत्रो र सढेको सत्तामा लिप्त भइरहन ती स्वयंको पुरोहित्याइँकरणमा लिप्त हुन्छन् । आजसम्मको कुरुप इतिहास यसै त भन्छ ।
—अहिले कोरोनाको संत्रासमय वातवारणमा‘हुने खाने’र‘हुँदा खाने’हरुले मनाउन गइरहेको दशैंका सन्दर्भमा समानता र भिन्नताहरु के के हुन् ?
कोरोनाको संत्रासमय वातावरणको यो दशैँमा हुनेखाने र हुँदाखानेमा सतहमा एउटा कुरा समान छ । त्यो हो, कोरोनाद्वारा सिर्जित त्रास । तर यही त्रासमय समानताभित्र पनि ठूलो असमानता छ । हुनेखानेहरु संक्रमित भए अस्पतालमा अक्सिजन, आइसीयू र भेन्टिलेटर उपभोग गर्नसक्ने तिनको औकात छ । हुँदा खानेहरुको त्यो औकात छैन । हुँदा खानेहरु संक्रमित भए क्रुर ओलीतन्त्रमा ती अस्पतालको मुख देख्न नपाई सडकमै मर्न अभिशप्त छन् ।—साभार रातोपाटी